सङ्क्रमित पनि परीक्षा दिँदै

त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा केन्द्रबाट १७ जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । परीक्षा नियन्त्रण कार्यालयले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षामा सम्मिलित हुन सङ्क्रमित विद्यार्थी पनि आएपछि अलग कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको बताउनुभयो ।

Advertisement

उहाँका अनुसार सबैभन्दा धेरै सङ्क्रमित बानेश्वर क्याम्पसमा छन् । यस केन्द्रमा १० जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । त्यस्ता परीक्षार्थीलाई ठूलो कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको छ ।

सङ्क्रमितको उत्तरपुस्तिका निर्मलीकरण गरेर छुट्टै खाममा राखी सम्बन्धित कार्यालयमा लैजाने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार काठमाडौँको कलङ्कीस्थित रिचमन्ड एकेडेमीमा पनि तीन सङ्क्रमितले परीक्षा दिइरहेका छन् । नवोदित र पाटन बहुमुखी क्याम्पसमा पनि दुई–दुई जना सङ्क्रमितले परीक्षा दिइरहेका छन् ।

उपत्यकाबाहिरका केन्द्रबाट भने सङ्क्रमितको तथ्याङ्क नआएको पनिकाले जनाएको छ । कोरोना सङ्क्रमितले परीक्षामा बस्न चाहेको अवस्थामा ७२ घण्टाअगाडि पीसीआर परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैबीच कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हाल सञ्चालनमा रहेका र छिट्टै हुन लागेका परीक्षा प्रभावित हुने भएका छन् । स्नातक तहअन्तर्गत हाल पहिलो र तेस्रो वर्षको पढाइ सकिइसकेको छ भने दोस्रो वर्षको पढाइ अन्तिम चरणमा पुगेको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री