ललिता निवास जग्गा प्रकरणका योजनाकार राजस्व छलीमा पनि संलग्न, २ अर्ब ४० करोड राजस्व छली

शोभाकान्त ढकाल ललिता निवास जग्गा प्रकरणका मुख्य योजनाकार हुन्। उनी राजस्व छली प्रकरणमा पनि मुछिएका छन्। राजस्व अनुसन्धान विभागले उनलाई राजस्व छलीमा मुद्दा चलाएको छ। ढकालसहित पाँच जनाविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व छली गरेको आरोप छ। यो मुद्दा उच्च अदालत पाटनमा दायर भएको छ। उनीहरूविरुद्ध २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ असुल गर्न माग गरिएको छ। यो बिगो र जरिवाना बापतको रकम हो।

Advertisement

विभागले ढकालसहित उनका श्रीमती उमाकुमारी ढकालसमेतलाई प्रतिवादी बनाएको छ। ढकाल काठमाडौंको नागार्जुन नगरपालिका १, नर्सरीचोक स्थायी ठेगाना भएको आनसान इन्टरनेसनल प्रालिका सञ्चालक हुन्। आनसानका सञ्चालक ढकाल, उनका नातेदार सरोज ढकाल, सान्टु श्रेष्ठविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ। ढकाल सम्लग्न आनसानले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरणहरू तयार गरी कारोबार नै नभएको देखाएको छ। आरोपित सबै आनसानमा आबद्ध हुन्।

कारोबार शून्य देखाई प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरूबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको आरोप विभागको छ। विभागका महानिर्देशक प्रकाश पौडेलले लेखा परीक्षकसँगको मिलोमतोमा राजस्व छली भएको बताए।

‘अडिटरसँग मिली उनीहरूले राजस्व छली गरेको देखिन्छ,’ उनले भने। ललितपुर महानगरपालिका–७ सुन्धारास्थित राजेश्वर एन्ड कम्पनीले आनसानको लेखापरीक्षण गरेका थिए। राजेश्वर एन्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठलाई यो मुद्दामा प्रतिवादी बनाइएको छ। उनीहरूले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कुसरमा गरेको पुष्टि भएको विभागले जनाएको छ।

उनीहरूले कुल १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ राजस्व चुहावट गरेका थिए। जसमा मूल्य अभिवृद्धि करतर्फ ४२ करोड २६ लाख ७ हजार ५३१ करोड छली भएको देखिन्छ। उनीहरूले आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ र लाभांशतर्फ ९ करोड ७४ लाख ८४ करोड ३७६ रुपैयाँ राजस्व चुहावट गरेका थिए। ढकालविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार बिगोसहित ३ वर्षसम्म कैद सजायमा मागिएको छ। राजस्व चुहावटमा सहयोग गरेकाले लेखापरीक्षक राजेश्वर श्रेष्ठलाई मतियारको रूपमा आधा सजायको माग दाबीसहित पाटन उच्च अदालतमा अभियोग पत्र दायर गरिएको छ। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री