आइतबार, ११ साउन २०८२

कृपया पैसाको कारण यस क्षेत्रको बद्नाम नगर्नुहोस् : मोडल उषा सुवेदीको अन्तर्वार्ता

समयपोष्ट २०७४ माघ ५ गते ७:२८

तपाईं अभिनयको क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?

सानै उमेरदेखि नै नाच्न रुचाउँथेँ । कतै गीत बज्यो भने नाच्न मन लागिहाल्थ्यो । सिरियल, फिल्म हेर्दा त्यस्तै अभिनय गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । म हिरोइन बन्छु भन्ने भावना स्कुल पढ्दादेखि नै आएको थियो । स्कुलका कार्यक्रमहरूमा अभिनय गर्दा नै सबैले तिमी राम्रो अभिनय गर्छौ, यसलाई निरन्तरता दिनू भन्नुहुन्थ्यो । पछि कलेज पढ्ने बेलादेखि पेसागतरूपमा यो क्षेत्रमा प्रवेश गरेँ ।

कस्ता गीतमा अभिनय गर्न रुचाउनुहन्छ ?

सबैखाले गीत–सङ्गीतमा अभिनय गर्न सक्छु । गीतको भावनाअनुसार न्याय दिन सक्छु जस्तो लाग्छ । तर पनि अझै सेन्टिमेन्टल गीतहरूमा बढी न्याय दिन सक्छु । यसमा आफूलाई सशक्तरूपमा प्रस्तुत गर्न सक्छु ।

गीत–सङ्गीतमा मात्र हो कि चलचित्रमा पनि अभिनय गर्ने सोच बनाउनुभएको छ ?

सुरुदेखि गीतहरूमा अभिनय गरेँ । त्यसैले त्यसलाई पहिलो प्राथमिकता दिन्छु । मैले चलचित्रमा पनि अभिनय गरिसकेकी छु । । दुईवटा चलचित्र ‘डिल्लीराम’ र ‘लै बरी लै’ मा अभिनय गरेकी छु तर दुवै चलचित्र प्रदर्शनमा आएका छैनन् ।

चलचित्रमा अभिनय गर्ने अफर आए गर्न तयार हुनुहुन्छ ?

तयार छु तर कथावस्तु राम्रो भयो भने मात्र । मलाई सुहाउने खालको कथा हुनुपर्यो । मलाई बढी भावनात्मक कथामा सुहाउँछ, त्यस्तो मौका मिल्यो भने गर्छु । तर जस्तोसुकै कथामा गर्दिनँ ।

कतिजति म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?

चालीसभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छु । धेरै आफ्नै  रचना भएका गीतमा अभिनय गरेकी छु ।

यो क्षेत्रमा महिलाहरूले काम गर्दा समाजले त्यति राम्रो दृष्टिकोणले हेर्दैन् । तपाईंप्रति तपाईंको घरपरिवार, साथीभाइ र समाजको कस्तो प्रतिक्रिया छ ?

आफू सकारात्मक हुनुपर्यो, केही फरक पर्दैन । घरपरिवारबाट मलाई राम्रो सहयोग भएको छ । उहाँहरूकै कारण आज म यस क्षेत्रमा अगाडि बढिरहेकी छु । सुरु–सुरुमा अलि गाह्रो भएको थियो । आजभोलि छरछिमेकले पनि राम्रो छ, अझै राम्रो गर्नू भन्नुहुन्छ । साथी त सहयोग गर्ने र हौसला दिने पनि छन् । प्रगति हुँदै गएपछि रिस–डाह गर्ने पनि हुन्छन् । अरूले के भन्छ भन्दा पनि आफूले के गर्ने भन्ने कुरा मुख्य हुन्छ । तैपनि म आफ्नै रचनामा बढी अभिनय गर्ने मान्छे, कसैले मेरो गीतमा अभिनय गर्देऊ भनेको भरमा म काम गर्दिनँ ।

यो क्षेत्रमा प्रवेश गर्न चाहने नवप्रवेशीहरूलाई के भन्न चाहनुहुन्छ ?

सुरु–सुरुमा धेरै गाह्रो हुन्छ । यदि तपाईंमा अभिनयप्रति लगाव छ, क्षमता छ र कला छ भने नआत्तिनुस् तर रहरको कारण यो क्षेत्रमा लाग्नुभएको छ, क्षमता छैन, पैसाकै भरमा अभिनय गर्दै हुनुहुन्छ भने कृपया पैसाको कारण यस क्षेत्रको बद्नाम नगर्नुहोस् । गीत–सङ्गीत भनेको राष्ट्रको सम्पत्ति हो, यसको सम्मान गर्नुपर्छ । बद्नाम होइन । रमाइलो गर्न अरू ठाउँ छँदै छ नि !

प्रस्तुतीदामोदर खनाल

प्रतिक्रिया

सम्बन्धित सामाग्री