आइतबार, २३ फागुन २०७७

अनौठो पूजा, उम्लिरहेको दूध पटक–पटक बालकको नांगो जीउमा

समयपोष्ट २०७७ माघ १० गते ८:१७

Advertisement

दाउरा दनदनी बलिरहेको चुलामा दुइटा माटाका तौला बसाले। त्यसमा ३५ किलो दूध खन्याए। दूध उमाल्न तापमा कमी नहोस् भनेर दुई जना धुप र दाउरा लगातार अँगेनामा हाल्न लागिपरे।

भगतिया र किर्तनियाहरू भने दिनाभद्री (भुइँया महराज)को गीत गाउँदै नाचिरहेका थिए। मूल भगता (धामी) इनरजित सदा पूजाका सामान जुटाउन व्यस्त थिए। दूध उम्लिएर पोखिन थालेपछि दुई जना धामीले आगो ढोग्दै नांगो हात तौलामा हाले। डाडुले दूध चलाएझै हातले नै चलाए। नांगो हातले दूध चलाउने क्रम पूजाको अन्त्यसम्म चल्यो।

Advertisement

मूल धामी इनरजित, १८ वर्षमुनिका कृष्ण सदा र रामसोभित सदा दूध उम्लिरहेकै बेला गंगासागर पोखरीमा नुहाउन गए। नुहाएर नाच्दै पूजास्थलमा आएका धामीलाई पूजा आयोजकले घरघरबाट ल्याएको दूधले खुट्टा धोएपछि उनीहरू उम्लिरहेको दूधको तौलानजिक आइपुगे। त्यसपछि मूल धामी र दुई बालकले नाच्दै उम्लिरहेको दूध पटक–पटक नांगो जीउमा खन्याएर भुइँया महराजलाई अपटौनी (अर्पण गर्नु) दिएका थिए। धामीले तातो दूध हातमा लिएर पूजा गर्ने परिवार र अन्य आगन्तुकको टाउकोमा राख्दै आशीर्वाद दिए।

आस्था र श्रद्धाका कारण उम्लिरहेको दूधले नुहाउँदा पनि शरीरमा कुनै हानि नहुने धामी इनरजितले दाबी गरे। ‘मेरा बुवा बाजे पनि धामी हुनुहुन्थ्यो र म सानो हुँदा पनि अपटौनी दिन जान्थें। अहिले मेरा छोराहरू दिन्छन्’, उनले भने, ‘भुइँया महाराज हाम्रो कुलदेवता हुनुहुन्छ। उहाँको आराधना गर्नाले हामी शक्ति प्राप्त गर्छौ र यो उम्लेको दूध पनि चिसो पानी बन्छ।’

जनकपुरको पेठिया बजारका अर्जुन मेस्तर र उनको परिवारले शुक्रबार आयोजना गरेको भुइँया महाराजको पूजा अनौठो देखिन्थ्यो। बिहेको १२ वर्षसम्म निःसन्तान रहेका मेस्तरले भगता इनरजितसमक्ष सन्तान प्राप्तिका लागि भाकल गरिदिन बिन्ती गरेका रहेछन्। तब भगताले भनेका थिए, ‘सन्तान पाइस् भने भुइँया महाराजको पूजा गर्नुपर्छ।’ मेस्तरले भाकलपछि जुम्ल्याहा छोरा पाए। त्यही खुसीमा उनले शुक्रबार पूजा आयोजना गरेका हुन्।

‘मैले सच्चा मनले भुइँया महराजसँग सन्तान मागेको थिएँ र मेरो मनता पूरा भयो’, पूजामा बसेका मेस्तरले भने, ‘मैले सके जति खर्च गरेर पूजा गरेको छु।’

माघ महिनामा मात्रै मनाइने भुइँया पूजा विशेषगरी सन्तान प्राप्तिका लागि भाकल गरेकाहरू वा परिवारको सुखशान्तिका लागि भाकल गर्नेहरूले भाकल पूरा भएपछि आयोजना गर्छन्। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित यो समाचार मनिका झाले लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री