शुक्रबार, १६ चैत २०८०

पृथ्वीजयन्तीमा सार्वजनिक भयो ‘त्यही सच्चा नेपाली’ (भिडियो)

समयपोष्ट २०७७ पुष २७ गते २०:४६

Advertisement

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीका अवसरमा आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

चलचित्र यात्राको निर्मातासमेत रहनुभएका चीजकुमार श्रेष्ठको निर्माण रहेको गीतमा गायिका देविका बन्दना तथा गायक राजन इशानको स्वर रहेको युगल राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण भइसकेको छ । अभिनेत्री तथा निर्मात्रीका रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० भन्दा बढी लोकप्रिय कलाकारले अभिनय गर्नुभएको छ ।

निर्माता श्रेष्ठले एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहारले अभिनय गरेको यो पहिलोपटक भएको बताउनुभयो । चार दिन लगाएर छायाङ्कन सम्पन्न गरिएको भिडियोमा विभिन्न स्थानका दृश्य समेटिएको छ । आनन्द अधिकारीको शब्द तथा इशानको सङ्गीत निर्देशनको ‘त्यही सच्चा नेपाली’ शीर्षकको उक्त गीतमा वरिष्ठ अभिनेता नीर शाहदेखि संस्कृतिविद् सत्यमोहन जोशीसम्मले अभिनय गर्नुभएको छ ।

भिडियोमा गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलीप रायमाझी, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट् सापकोटा, शिवशङ्कर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शीताष्मा हमाललगायतले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री