बैङ्कर्स सङ्घका अध्यक्ष भन्छन् –‘हाम्रो बैङ्किङ झण्डै अन्तर्राष्ट्रिय स्तरको छ’
सानिमा बैङ्कका सीईओ तथा नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष भुवनकुमार दाहालको अन्तर्वार्ता
नेपाल बैङ्कर्स सङ्घमा भर्खर मात्र अध्यक्षको नेतृत्व सम्हाल्नुभएको छ, तपाईंको कार्यकालका योजना के छन् ?
नेपालको बैङ्किङ क्षेत्र अहिले पनि दक्षिण एसियामा ज्यादै उत्कृष्टमा पर्छ । हाम्रो बैङ्किङ झण्डै अन्तर्राष्टिय स्तरको छ । यसलाई अझ उन्नत बनाउने प्रयास गर्नेछौँ ।
एकातिर बैङ्किङ क्षेत्र भित्रका समस्या र अर्कोतिर नियामक नेपाल राष्ट्र बैङ्कले समय समयमा जारी गर्ने विभिन्न नीति निर्देशनसँग कसरी फेस गर्नुहुन्छ ?
यो त हाम्रो दैनिक काम नै हो ।
सङ्घले यसअघि गरेको चर्चित निर्णयमा ब्याजदर नबढाउने भद्र सहमति थियो, अहिले बैङ्किङ क्षेत्रमा कर्जाको माग कम छ भनिन्छ, अब सङ्घले यसअघि गरेको भद्र सहमति तोड्ने बेला आएन ?
अहिले यहाँले हेर्नुभयो भने विभिन्न बैङ्कको फरक–फरक ब्याजदर पाउनुहुन्छ । सबैको ब्याजदर एउटै छैन ।
उच्च ब्याजदरकै कारण विगतमा उद्योगी, व्यापारी बैङ्कविरुद्ध आन्दोलनमा समेत आए, ८ प्रतिशतको ऋणको ब्याज १४ प्रतिशतसम्म पुग्यो । तपाईंको अनुभवमा बैङ्क, व्यापारी र बैङ्कबाट लोन लिएका नागरिक सबैलाई मर्का नपर्ने ब्याजदर कति हुनुपर्छ ? यसका लागि सरकारले के गरिदिनुपर्छ ?
ब्याजदरको घट–बढ माग र आपूर्तिमा भर पर्छ । यति नै दर भन्ने हुँदैन । मुद्दतीको ब्याजदर मुद्रास्फीतिभन्दा बढी हुनु राम्रो हो । बेस रेटले कर्जाको ब्याजदर निर्धारण गर्दछ ।
राष्ट्र बैङ्कले केही समयअघि सामाजिक सुरक्षा कोषमा सहभागी हुन निर्देशन दियो, त्यसमा सहभागी हुन बैङ्कलाई के समस्या छ ?
सानो उदाहरण दिन चाहन्छु । सानिमा बैङ्कका कर्मचारीले हाल आफ्नो अवकाशको समयमा पाउने रकम (अर्को शब्दमा सुरक्षा कोष) नेपाल सरकारद्वारा स्थापित कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषमा राखेका छन् । उनीहरूलाई नेपाल सरकारले नै स्थापना गरेको अर्को संस्थामा राख्न नचाहनुको कारणले होला त ? खाइपाई आएको सुविधा घट्छ भन्ने नै हो । यो विषय सम्बोधन हुने बित्तिकै यो समस्या सम्बोधन हुन्छ ।
राष्ट्र बैङ्कले विभिन्न समयमा जारी गरेका नीति र निर्देशन एउटा स्कुल अफ थटबाट हेर्दा ‘नियमन कि नियन्त्रण’ भन्ने प्रश्न उठेको छ । साँच्चीकै नीतिगत विषयमा बैङ्करले अहिले असहज स्थिति भोग्नुपरेको हो ?
यस्तो अवस्था बेलाबेलामा हुन्छ । राष्ट्र बैङ्क हाम्रो अभिभावक भएकाले हामी यस्ता विषय छलफल गरेर टुङ्ग्याउँछौँ ।
कृषि लगायत सरकारले प्राथमिकता तोकेका क्षेत्रमा कर्जा बढाउन के गर्नुपर्छ ?
यहाँले तथ्याङ्क हेर्नुभयो भने कृषि लगायत प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा राम्रो वृद्धि भइरहेको छ ।
अहिले बिग मर्जरको सुरुवात भएको छ, यो कत्तिको दिगोपन होला, तपाईंको अनुभवमा पुँजीको केन्द्रीकरण कत्तिको आवश्यक हो ?
यसमा दुवै तर्फबाट तर्क गर्न सकिन्छ । म ग्लोबल आईएमई र जनताको मर्जरको सफलताको कामना गर्दछु । यो सफलताले अरूलाई बिग मर्जरमा जान प्रेरणा मिल्नेछ ।
प्रविधिको विकाससँगै मोबाइलबाटै सबथोक हुने बेलामा नेपाली बैङ्क भने शाखा विस्तारमा दौडिरहेका छन् । अब पनि बैङ्कको भौतिक उपस्थिति किन आवश्यक पर्यो ?
अब यो दौड बिस्तारै कम हुन्छ ।
तपाईंले नेतृत्व गरेको सानिमा बैङ्कको अवस्था के छ ? मर्जर लगायत आगामी योजना के छन् ?
सानिमा बैङ्क ज्यादै सबल बैङ्क हो । मर्जरको सम्बन्धमा राम्रो पार्टनरको खोजीमा छ । दुई प्लस दुई कम्तीमा ५ होस् भन्ने हाम्रो सोच हो ।
प्रतिक्रिया