शनिबार, ८ वैशाख २०८१

कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने, लक्षण देखिएमा तत्काल परीक्षण गराउन चिकित्सकहरुको सुझाब

समयपोष्ट २०७६ माघ ११ गते १७:२३

Advertisement

चिनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले सचेत गराएका छन् । धेरै डराइहाल्नुपर्ने अवस्था नरहे पनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन सुझाब दिएका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको बताए

कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि श्रेष्ठले बताए । “कोरोना भाइरस अध्ययनके विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छ । तर धेरै भयावह स्थिती छैन ।” श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठले चिनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै छिमेकी देशमा नयाँ रोग फैलिदा नेपाल सरकार चुप लागेर नबस्ने बताए ।

चिनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिए पनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दावी छ । “स्वास्थ्य मन्त्रालय सजग छ । अहिले एक जनामा मात्रै देखियो, उहाँ निको भइसक्नुभयो । उपचार गर्ने स्वाथ्यकर्मी र साथीभाइहरुको खोजी गरेर परीक्षण गराउँदैछौँ । उहाँबाट कसैलाई सरेको जस्तो लाग्दैन ।” श्रेष्ठले भने ।

तर, चिनसँगको सिमाना नजिक भएकोले कोरोना भाइरस संक्रमण होला कि भनेर आफूहरु सचेत भएर बसेको श्रेष्ठको भनाई छ । नाकाहरु र विमानस्थलमा सतर्कता अपनाउने योजना लागु भइसकेको श्रेष्ठले बताए ।

नाका तथा त्रिभुवन अन्राष्ट्रिय विमानस्थलमार्फत चिनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिने श्रेष्ठले जानकारी दिए । “शंका लागेमा सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउँछौँ । अस्पतालमा पनि छुट्टै राखेर कोरोना हो कि हैन भनेर परीक्षण गर्छौँ ।” टेकमा ठाउँ पुगेन भने पाटन अस्पताललाई पनि तयारी अवस्थामा रखिएको श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले जनतालाई पनि सचेत गराउनुपर्ने भन्दै धेरै डराउनुपर्ने अवस्था भने नरहेको बताए । कोरोना भाइरसको बारेमा विश्व स्वास्थ्य संगठनले पनि अध्ययन गरिरहेको जानकारी दिदै श्रेष्ठले नेपाल पनि चनाखो भएर बसेको बताए ।

”नसर्ने रोग भए डराउनुपर्थेन । यो रोग सर्ने खालको हो । किटाणु र भाइरसमार्फत सर्ने रोगहरु विगतमा धेरै देखिइसकेको छ । मौसम परिवर्तनले नयाँ रोग देखिने र नेपालमा पनि भित्रिने गरेको छ ।” श्रेष्ठले भने ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कोरोना भाइरसबारे जानकारी दिदै सरसफाइमा ध्यान दिने हो भने संक्रमणबाट बँच्न सकिने बताए । अहिले देखिएको कोरोना भाइरस विगतमा देखिएको तर अहिले नयाँ प्रजाति भेटिएको उनको भनाई छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको पनि उनले दावी गरे । “कोरोना भइरस अरु प्रजातिमा पनि छन् । २००३ सालमा सार्स आयो । त्यसबेला पनि टेकु अस्पतालले नै नियन्त्रण गर्यो । अहिलेको कोरोना भाइरस पनि सार्ससँग मिल्दोजुल्दो छ । हामी तयारी अवस्थामा छौँ ।” उनले भने ।

नेपालमा एक जनामा संक्रमण देखिए पनि ति व्यक्ति चिनबाट आएकाले नेपालमा रहनेलाई संक्रमणको खतरा धेरै नभएको उनको जिकिर छ ।

“नेपालमै संक्रमण भएको हैन । चिनबाट आएको हुनाले देखिएको हो । उहाँबाट अरुलाई सर्ने सम्भावना छैन । उहाँ पनि पूर्ण निको भएर घरमा बसिरहनुभएको छ । यद्यपी व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।” पाण्डेले भने । “टेकु अस्पताल पूर्ण तयारीमा छ । आवश्यक बेड तयार पारेका छौँ । कसैलाई शंका लागेमा हामी अनुसन्धान गर्न सक्षम छौँ ।”

कोरोना भाइरस श्वासप्रश्वाससँग सम्बन्धित भाइरस भएकाले एक मिटरको दुरीसम्म एक व्यक्तिले हाच्छु गर्दा अर्कोलाई सर्न सक्ने उनको भनाई छ ।
“संक्रमणबाट जागिन सरसफाईमा ध्यान दिनुपर्छ । चिनमा एक हजारभन्दा बढिमा संक्रमण भइसक्यो, केहीको मृत्यु पनि भइसक्यो त्यसैले सचेत हुनुपर्छ । तर पनि धेरै डराउनुपर्ने अवस्था छैन ।” पाण्डेले बताए ।

रोगसँग लड्ने क्षमता कम भएका बुद्ध, बालबालिका वा अरु विभिन्न रोगबाट ग्रसितलाई छिटो संक्रमण हुन सक्ने पाण्डेको भनाई छ । रुघा खोकी लाग्यो वा कोरोना भाइरसको आशंका लागेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निःशुल्क स्वास्थ्य परीक्षण गराउने पनि पाण्डेले जानकारी दिए ।

अर्का चिकित्सक डा. शेरबहादुर पुनले पनि कोरोना भाइरसको बारेमा जानकारी दिदै चिनमा संक्रमण बढिरहे पनि नेपालमा धेरै डराउनुपर्ने बताए । यो भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाब दिए । कोरोना भाइरस आपैमा रोग नभै एउटा भाइरस मात्रै भएको उनले बताए ।

“कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो । २००३ मा सार्स, २०१२ मा मर्स देखिएको थियो । २०१९ को अन्तिममा देखिएको हो कोरोना । यसको नाम २०१९ नोबल कोरोना हो ।” उनले भने । यद्यपी यो भाइरस नयाँ भएकाले धेरै जानकारी भएको बताउँदै उनले तुलनात्मक रुपमा हेर्दा खतरा धेरै नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री