शुक्रबार, १४ वैशाख २०८१

किशोरकिशोरी दुव्र्यसनको लतमा फस्दै, परीक्षणमा आनाकानी

समयपोष्ट २०७६ माघ ८ गते २०:१६


खेमराज गौतम

Advertisement

जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा लागुपदार्थ दुव्र्यसन भित्रभित्रै फैलिँदो क्रममा रहेको पाइएको छ । बजारका युवामा मात्र होइन, गाउँगाउँबाट झरेका युवायुवती पनि लागुपदार्थ दुव्र्यसनमा फस्दै गएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले थालेको लागुपदार्थ सेवन (लापसे) सचेतना अभियान तथा परीक्षणका क्रममा बिद्यालय तहका किशोरकिशोरी दुव्र्यसनको लतमा फस्न थालेको देखिएको छ ।

प्रहरीले गत भदौ महिनादेखि शुरु गरेको लापसे सचेतना तथा परीक्षणका क्रममा सदरमुकामका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले गाजा सेवन गर्ने गरेको पत्ता लागेको छ । बढ्दो दुव्र्यसन रोक्न प्रहरीले प्रहरी साझेदारी कार्यक्रम र आमासँग प्रहरी अभियान सञ्चालन गर्दै आएको छ । प्रहरीले मङ्गलबार मात्रै जिल्ला सदरमुकाममा २०० विद्यार्थीलाई सोसम्बन्धी सचेतना कार्यक्रम गरेको थियो । कार्यक्रममा ५० विद्यार्थीको परीक्षण गर्दा २१ ले गाजा प्रयोग गर्ने गरेको पाइएको थियो ।

बागलुङमा दुव्र्यसन प्रयोग गरे नगरेको कीटद्वारा परिक्षण गर्न थालिएको हो । दुव्र्यसन गरेको एक महिनासम्म पिसावको माध्यमद्वारा थाहा हुन्छ । “दुव्र्यसन प्रयोगकर्र्ता आफू मात्र बिग्रेका छैनन्, अरुलाई पनि बिगारेका हुन सक्छन्”, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले भन्नुभयो, “सामुदायिक विद्यालयमा परीक्षण गरेर प्रमाणित भएका सुध्रिएका समेत छन् ।” निजी विद्यालयमा सचेतना सञ्चालन गरिए पनि परीक्षणका लागि भने विद्यालयले आनाकानी गर्ने गरेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । “सामुदायिक विद्यालयमा दुव्र्यसनको केही समस्या देखिएको छ, विद्यालयलेसमेत सुधार्न चाहेका छन्”, उहाँले भन्नुभयो, “निजीमा अझ बढी दुव्र्यसनको समस्या भएको गुनासो आएको छ तर विद्यालय आफ्ना विद्यार्थीमा दुव्र्यसनीको समस्या देखिए बाहिर नकारात्मक सन्देश जाने र विद्यार्थी घट्ने जोखिमका कारण विभिन्न बाहना बनाउने प्रयास गरिरहेका छन् ।”

अहिलेसम्म सात वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई लापसे सचेतनाका साथै शङ्कास्पद विद्यार्थीको परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सामुदायिक विद्यालयतर्फ विद्यामन्दिर, लहरेपीपल, नेपाल मावि, लेखानी, अमलाचौरको पृथ्वी हीरण्य माध्यामिक विद्यालय, धौलागिरि टेक्निकल इन्स्टिच्युटका विद्यालयमा लापसे सचेतनासँगै परीक्षण गरिएको थियो । करिब एक हजारमध्ये १११ विद्यार्थीमा नमूनाका रुपमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ६१ विद्यार्थीले लापसे सेवन गरेको पाइएको छ ।

“प्रहरीले सबैलाई परीक्षण गर्दैन, सचेत मात्रै गर्छौं”, प्रहरी उपरीक्षक भट्टले भन्नुभयो, “हामीलाई शङ्का लागेको व्यक्तिको शरीर, आनिबानी लगायतका क्रियाकलापका आधारमा कीटद्वारा परीक्षण गर्दै आएका छौँ ।” प्रहरीले अन्य शङ्कास्पद स्थलमा रहने व्यक्तिलाई लापसे परीक्षण गर्दै आएको छ । लापसे गरेको पाइएमा अभिभावकलाई बोलाएर जानकारी गराउने, सम्झाउने, सुधार केन्द्र पठाउने तथा मुद्दासमेत चलाउँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निजी विद्यालयको आनाकानीका बारेमा प्याब्सन र एनप्याब्सनले भने विद्यालयको अरु कार्यक्रमका कारण व्यवस्थापन गर्न ढिलाइ भएको जिकिर गरेका छन् । एनप्याब्सन बागलुङका अध्यक्ष बालकृष्ण शर्माले परीक्षाको समय चलिरहेकाले लापसे परीक्षण गर्न नसकेको स्वीकार गर्नुभयो ।

उहाँले प्रहरीसँग थप समन्वय गरी विद्यार्थीको लापसे परीक्षण गरिने बताउनुभयो । प्याब्सन बागलुङका उपाध्यक्ष दलबहादुर थापाले प्रहरीले चाहेको खण्डमा लापसे परीक्षण गर्नका लागि कुनै समस्या नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री