
नेपाल स्टक एक्सचेञ्ज दुई विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बुधबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा ज्योति विकास बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य समायोजन गरेको हो । यी बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।
नेप्सेले ज्योति विकास बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १४९ रुपैयाँ ८९ पैसा कायम गरेको छ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसहित पुस २९ गते साधारण सभा बोलाएको छ। बैंकको सो सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि शुरु हुनेछ।
त्यस्तै, नेप्सेले सिन्धु विकास बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ११८ रुपैयाँ ३७ पैसा कायम गरेको छ। बैंकले लाभांश प्रस्तावसहित पुस २९ गते दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको साधारण सभा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे शुरु हुनेछ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७८ हजार ६३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।










प्रतिक्रिया