
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गरेका पूर्वमहामन्त्री धवलशमशेर राणालाई पुनः पार्टीमा फर्किन आग्रह गरे।
पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरे। पूर्वमहामन्त्री राणाले पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसकेका छन्।
अध्यक्ष लिङदेनले केन्द्रीय समितिको बैठकमा यसबारे कुनै जानकारी नआएको र नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको बताए। राणाले पार्टी छाडेर नयाँ दल खोल्ने कार्य गरेमा त्यो उनको जीवनकै अन्तिम गल्ती हुने लिङदेनको दाबी छ।
यस प्रकारका कामहरू पहिले पनि हुँदै आएको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा यस्तो गलत कदम नचाल्न सुझाव दिए। राणाका लागि अझै पनि समय बाँकी रहेकाले पार्टीमै फर्किएर काम गर्न उनले आग्रह गरे।
अहिले नै पार्टीको नेतृत्वको बारेमा बहस गर्ने समय नआएको अध्यक्ष लिङदेनले स्पष्ट पारे। महाधिवेशनको तोकिएको समय आएपछि साथीहरूसँग छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुगिने उनको भनाइ छ।
आउने महाधिवेशनमा पार्टी नेतृत्वलाई प्रभावकारी, सशक्त र समयसापेक्ष बनाउने कुरामा सबैको ध्यान केन्द्रित हुने उनले जानकारी दिए। राप्रपालाई बलियो बनाउन सबै नेता कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए।










प्रतिक्रिया