आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशाला भवन निर्माणका लागि सहयोग
तनहुँ व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशाला भवन बनाउनका लागि लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनले एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।
विज्ञान विषय पढाइका लागि क्याम्पसमा प्रयोगशाला भवन आवश्यक भएपछि फाउण्डेशनले सो रकम सहयोग गरेको हो । एक हजार ७०० वर्ग मिटरमा फैलने भवन चार तलाको हुनेछ । २०७६ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि पनि क्लबले क्याम्पस भवन निर्माणका लागि ५० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।
उक्त भवनको बुधबार लायन्स क्लब अफ नेपाल ३२५ वि १ का डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठले उद्घाटन गर्दै लायन्सको सहयोगबाट मात्रै भवन निर्माण सम्पन्न नहुने भएकाले स्थानीयवासीलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्याम्पसको पूर्वाधार निर्माणमा नगरपालिकाको सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विश्व बाँस्तोलाले सामुदायिक क्याम्पसको भौतिक एवं शैक्षिक विकासका लागि समुदायको सहयोग अपरिहार्य रहेको बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले गुणस्तरीय शिक्षा प्रदानका लागि प्रयोगशाला भवनले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्राविधिक शिक्षाका लागि आधारशीला तयार भएको बताए ।
उनले भने, “विज्ञान विषयको अत्यधिक माग भएकाले प्रयोगशाला भवनको आवश्यकता खड्किएको थियो । लायन्स क्लबले सहयोग गरेर ठूलो गुन लगाएको छ ।”
रु दुई करोड ४० लाखको लागतमा निर्माण हुने सो भवनका लागि अपुग रकम स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारसँग माग गरिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । उनका अनुसार सामुदायिक क्याम्पस भएको हुनाले समुदायका व्यक्तिसँग समेत सहयोगको आग्रह गरिनेछ ।
भवन निर्माणका लागि क्याम्पसको तर्फबाट रु एक करोड ३२ लाख लागत सहभागिता रहनेछ । जसमध्ये क्याम्पसले रु ४६ लाख जम्मा गरिसकेको छ भने बाँकी रु ८६ लाख अपुग छ । प्रमुख हड्खलेले भने, “बाँकी रकम जुटाउन क्याम्पसलाई चुनौती छ तर पनि सहयोग रकम जुटाउन क्याम्पस सफल हुने विश्वास लिएका छौँ ।”
विसं २०४४ मा स्थापित क्याम्पसमा दुई हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी ४०० को हराहारीमा छन् । तीमध्ये ७० प्रतिशत जनजाति र १८ प्रतिशत दलित छन् भने छात्राको सङ्ख्या ८० प्रतिशत रहेको प्रमुख हड्खलेले जानकारी दिए ।
नेपालको स्वास्थ्य, शिक्षा र अपाङ्गताका क्षेत्रमा सहयोग गर्दै आएको लायन्स क्लबले यसअघि व्यास नगरपालिका–१२ घाँसीकुवास्थित अमरज्योति माध्यमिक विद्यालयमा समेत रु दुई करोड ५० लाख सहयोग गरेको थियो ।
प्रतिक्रिया