मंगलबार, १७ असार २०८२

बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग

समयपोष्ट २०७५ पुष २९ गते ११:२२

कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम शुरु हुन ढिलाइ भएको छ ।

Advertisement

गत भदौमा आएको बाढीको कारण बेनी बजारस्थित कालीगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरी बजारलाई उच्च जोखिममा पारेको थियो । बेनी बजार संरक्षणको लागि सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागमार्फत रुपाताल एकीकृत विकास आयोजनाबाट कार्यान्वयन हुने गरी रु तीन करोड ५० लाख बजेट विनियोजन भएको छ । त्यस्तै पर्वत बेनी संरक्षणको लागि रु एक करोड ५० लाख बजेट विनियोजन भएको छ ।

जिल्ला सदरमुकामसमेत रहेको बेनी बजारलाई संरक्षण गर्न कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको तटबन्ध योजना कार्यान्वयनको बारेमा शनिबार बेनी नगरपालिकाले आयोजना गरेको छलफल एवं अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले हिउँद यामको समय बितिसक्दासमेत बजार संरक्षणको पूर्वाधार निर्माण शुरु नभएको भन्दै गुनासो गरेका थिए ।

सो छलफलमा सहभागी बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधि, म्याग्दीका राजनीतिक दल एवं सरोकारवालाले कालीगण्डकी नदीको कटानबाट बजारलाई सुरक्षित राख्न दुवैतर्फ एकैपटक संरक्षणको काम शुरु गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य विनोद केसी, पूर्वसभासद् रेशमबहादुर बानियाँले तत्काल बेनीमा सम्पर्क कार्यालय राखेर बजार संरक्षणको कामलाई अघि बढाउन रुपाताल एकीकृत विकास आयोजनाका प्रतिनिधिलाई आग्रह गरे।

उनीहरुले ठेक्का प्रक्रियामार्फत काम गर्दा थप समय खेर जाने भएकाले बजेटलाई ब्रेकडाउन गरी उपभोक्ता समितिमार्फत तत्कालै काम शुरु गर्न सुझावसमेत दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ लीलाधर अधिकारीलगायत जनप्रतिनिधि र सरोकारवालाले वैशाखअगावै बजार संरक्षणको लागि तटबन्धको काम सम्पन्न गर्ने गरी काम गनुपर्नेमा जोड दिएका थिए ।

Advertisement

सरोकारवालाको सुझावबमोजिम संरक्षणको कामलाई छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत अघि बढाउने तयारी गरिएको रुपाताल एकीकृत विकास आयोजनाका प्रमुख रामप्रसाद अर्यालले बताउनुभयो । परियोजना प्रमुख अर्याल र इञ्जिनीयर कृष्णबहादुर विकले नदी कटानबाट बजार जोगाउनको लागि सञ्चालन हुन लागेको आयोजनालाई प्रभावकारी कार्यान्वयनको लागि स्थानीय सरकार र समुदायबाट रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

सरोकारवालाको उक्त छलफल एवं अन्तक्र्रियात्मक बैठकले वर्षायाम शुरु हुनुपूर्व नै संरक्षणको काम सक्ने गरी छिटो छरितो प्रक्रिया अपनाउन आयोजनालाई सुझाव दिने निर्णय गरेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । उनका अनुसार, बेनी बजार संरक्षण र कालीगण्डकी नदी तटबन्धको लागि स्थायी कार्यालय माग गर्ने निर्णयसमेत भएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री