शुक्रबार, २१ वैशाख २०८१

‘कांग्रेस जुरुक्क उठ्न सक्दैन तर, उडेको चरा समात्ने कुरा गर्छ’

समयपोष्ट २०७५ साउन ७ गते ११:१७

प्रधानमन्त्री केपी शर्मा ओलीले डा.गोविन्द केसीलाई उचालेर काँग्रेसले राजनीति गरेको आरोप लगाएका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसका अवसरमा नेकपाले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ओलीले काँग्रेसले हुलहुज्जतको बाटो लिएको आरोप लगाए ।

Advertisement

ओलीले केसीको अनसनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति खोजेको भन्दै चर्को आलोचना गरे । ओलीले डा. केसीलाई स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं बन्न आग्रह समेत गरे ।

उनले भने‘स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौं । तपाई नै जिम्मा लिनुस्, आयोग चाहिन्छ भन्नुहुन्छ तपाई नै अध्यक्ष बन्नुस्’ । उनले केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको बताए । उनले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न सरकार तयार रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले कांग्रेसको म्याउम्याउ नीतिका कारण तराई डुवानमा परेको आरोप लगाए । सरकार बनाउन र टिकाउन कांग्रेसले छिमेकीसँग म्याउम्याउ गर्ने नीति अन्तर्गत गरेको कामले तराई डुवानमा परेको उनले बताए ।

आफ्नो नेतृत्वको सरकारले डुवान समस्या समाधानका लागि पहल थालेको उनले बताए ।

Advertisement

ओलीले सम्बोधनको धेरै समय कांग्रेसको आलोचना गरे । उनले भने, ‘म कांग्रेसलाई भन्न चाहन्छु, गोविन्द केसीलाई जुम्लाबाट ल्याउन नदिएर उपद्रो मच्चाइयो । कांग्रेसले गर्न खोजेको के ?’

सरकारी टोलीले डा. केसीको स्वास्थ्य परीक्षण गर्छौं भन्दा आतंकित हुनु नपर्ने उनले बताए ।

उनले आफ्नो राजनीतिक स्वास्थ्यका अरुको जीवनमाथि खेलबाड नगर्न आग्रह गरेका छन् । कांग्रेसले डाक्टरहरुको हुलहुज्जत, अमानवीय बाटो र डा. केसीको अनसनलाई समातेर राजनीति गर्न खोजेको भन्दै उनले उनले भने, ‘यस्तै त्यान्द्रा समातेर राजनीति गर्न खोजेको हो भने कांग्रेस देख्दा दया लाग्छ ।’

हजुरआमाहरुले घाम तापेर बस्दा हामीले उमेरमा उठेका चरा पनि समाउँथ्यौं भनेर सुनाउने गरेकेा भन्दै प्रधानमन्त्री ओलीले भने, अहिले कांग्रेस पनि त्यस्तै भएको छ, जुरुक्क उठ्न सक्दैन तर, उडेको चरा समात्ने कुरा गर्छ ।’

डा. केसीले भने अनुसार हुनुपर्ने भन्ने कांग्रेसको अडान संकेत गर्दै उनले क-कसको हुकुम हामीले तामेल गर्नुपर्ने हो भनिदिन कांग्रेसलाई आग्रह समेत गरे ।

विवेकशील साझातर्फ संकेत गर्दै भने, अरुको त अनुभव छैन । भर्खर पार्टी खोल्दैछन्, यसो गर्दा हुन्छ कि भन्ने परेको होला । कांग्रेस त पुरानै पार्टी हो, बुझ्नु पर्ने हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री