शनिबार, १ कार्तिक २०८२

समुद्रपारि दाजुभाइ, आँगनभरि ढकमक मखमली

समयपोष्ट २०८२ कार्तिक १ गते ९:४३

Advertisement

मधु शाही

आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ । बौद्ध जोरपाटीकी सुमना बेल्वासेलाई जब तिहार आउँछ, समुद्रपारि पुगेका दाजुको सम्झना आँखाभरि छल्किन थाल्छ । उहाँ भन्नुहुन्छ, “दाइ हुँदा हुन त यी सबै मखमली टिपेर गलाभारी पहिरीदिन्थे ।”

‘सम्बन्ध जति टाढा उति गाढा’, भनेजस्तै बेल्वासेले दाजु विदेशिएपछि तिहारको महत्त्व झनै मनन गर्नुभयो । कोरियामा चार वर्षदेखि रोजगारी गर्न पुगेका दाजुले नै घर खर्च धानेका छन् । आर्थिक स्रोतको मुख्य भूमिका निर्वाह गरेका दाइको दायित्वप्रति उहाँ सधैँ हार्दिक भाव राख्नुहुन्छ । यद्यपि पर्वको बेला भने परिवारको सदस्य नहुँदा मन अमिलो हुने गरेको उहाँले सुनाउनुभयो । विगतमा देउसी र भैलो खेलेर रमाइलो गरे क्षण सँगाल्नुभएको बेल्वासेले भन्नुभयो, “दाइ अर्को वर्ष त आउँछ रे ।”

विदेशिएका भाइको सम्झनामा तीन वर्षदेखि एक्लै तिहार मनाउनुभएकी ललितपुर डल्लुकी प्रिन्सा बस्नेतले भिडियो कलबाटै तिहार मनाउनुहुन्छ । डिजिटल माध्यम नभएको भए त झनै गाह्रो हुन्थ्यो । भिडियोमा मज्जाल गफिएर पर्वको आभाव गर्ने अवसरलाई उहाँले सकारात्मक लिनुभएकोछ । तर, उहाँलाई विदेशिएको भाइ आँखै अगाडि देख्न पाए रमाइलो गर्ने थियौँ भन्ने लाग्छ ।

Advertisement

हुनत बेल्वासेका आफन्ती दाजुभाइहरू छन् । जो साथमा छैन उसैको चासो बढी हुनेरहेछ । उहाँ विदेशिएका दाइको निधारमा टीका लगाएर बहिनी र दाजुबीचको आत्मीयता साट्ने क्षणको प्रतीक्षामा हुनुहुन्छ । विगत तीन वर्षदेखि भिडियो कलमा तिहारको बेला मौखिक शुभकामना दिएर तिहार मनाउने गरेको उहाँले बताउनुभयो ।

उहाँजस्तै, परदेशी भाइलाई सधैँ तिहारमा सम्झिन बाध्य हुनुहुन्छ, भक्तपुरकी रोमा भट्टराई । भट्टराईका दुई दाजुभाइ छन् । कान्छो भाइ रोजगारीको सिलसिलामा कतार छन् । घरमै भएका दाजुको निधारमा सप्तरङ्गी टीका लगाउँदा भाइको समेत ख्याल नआउने कुरै भएन । उहाँ प्रत्येक तिहारमा भाइलाई भिडियो कल गर्दै दाजुलाई तिहारमा टीका लगाएको दृश्य देखाउनुहुन्छ । “यस्तो बेला हाँसो र आँशु दुवै छल्किन्छ”, उहाँले भन्नुभयो, “विदेशिएको भाइ र यही भएको दाजु एकैसाथ भएर तिहार मनाउने कहिले होला ? त्यही समयको प्रतीक्षामा छु ।”

कोटेश्वर बस्ने गङ्गा कोइरालाले भने दुई वर्षअघि विदेशिएका दुई दाजुको महिमा टाढिएपछि झनै गाढा भएको बताउनुहुन्छ । रोजगारीका सिलसिलामा दुवै दाजु कतारमा छन् । उहाँहरूले हरेक तिहारमा बिहिनीको सम्झनामा तिहार दक्षिणा अथवा केही न केही उपहार पठाएकै हुन्छन् । कोइरालाले खाडीमुलुक पुगेका दुई दाजुप्रति माया भाव दर्शाउँदै भन्नुभयो, “उहाँहरू यहाँ भइदिएको भए देउसीभैलो खेल्न पाउने थियौँ भन्ने लाग्छ ।”

वैदेशिक रोजगारको सामाजिक संरचना र मनोविज्ञानलाई समेत प्रभाव पारेको समाजशाास्त्रीहरू बताउँछन् । समाजशास्त्री डा मीना पौडेलका अनुसार वैदेशिक रोजगारले जसरी समाजमा आर्थिक क्षेत्रमा रेमिट्यान्स भित्र्याएर योगदान दिएको छ । जस्तै, वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ । विदेशमा भएका र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ ।

उहाँ भन्नुहुन्छ, “वैदेशिक रोजगारले सामाजिक मूल्यमान्यता र संस्कृति जर्गेनाको भूमिका पनि खेलेको छ ।” यसलाई उहाँले सामाजिक पुँजी भनेर सम्बोधन गर्न उपयुक्त हुने बताउनुहुन्छ । आर्थिक रेमिट्यान्स भित्राएझैँ, वैदेशिक रोजगारले सामाजिक मूल्य र मान्यताको पुँजीमा पनि इँटा थप्ने काम गरेको छ भन्ने उहाँको बुझाइ छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या आठ लाख ३३ हजार पुगेको छ । गत वर्षको तुलनामा यस वर्ष एक लाखले बढेको छ । आव २०८०/८१ को तथ्याङ्क हेर्ने हो भने, सात लाख ३९ हजार ४९ पुरुष र ९३ हजार महिला वैदेशिक रोजगारमा गएको सरकारी तथ्याङ्क छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री