शनिबार, १ कार्तिक २०८२

काठमाडौं महानगरपालिकामा २०,२८२ विद्यार्थीलाई रु. २ अर्बभन्दा बढीको छात्रवृत्ति

समयपोष्ट २०८२ असोज ६ गते १९:३४

Advertisement

काठमाडौं महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयहरूले यस शैक्षिक सत्र २०८२ मा २०,२८२ विद्यार्थीलाई रु. २ अर्ब २५ करोडभन्दा बढीको छात्रवृत्ति प्रदान गरेका छन्। मेयर बालेन्द्र साहका अनुसार यो संख्या हालसम्मकै उच्च हो।

महानगरले संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति प्रदान गर्न बाध्यकारी बनाएको काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को प्रभावकारी कार्यान्वयनका कारण यो उपलब्धि सम्भव भएको हो। मेयर साहले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार कार्यान्वयनको पहिलो वर्ष १३,०००, दोस्रो वर्ष १९,००० र यस वर्ष कक्षा १ देखि १० सम्म १६,९८० र कक्षा ११ मा ३,३०२ विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्।

हालसम्म ४४० विद्यालयले छात्रवृत्तिको विवरण महानगरपालिकामा बुझाएका छन्। तर, केही विद्यालयले अझै विवरण पेस गरेका छैनन्। मेयर साहले यस्ता विद्यालयहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गरेका छन्। “विवरण पेस नगर्ने विद्यालयहरूलाई बन्द विद्यालयको रूपमा बुझी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,” उनले चेतावनी दिएका छन्।

महानगरपालिकाले प्राप्त विवरणको अनुगमन गर्ने र कुनै फरक पाइएमा कानुनअनुसार कारबाही गर्ने साहले बताए। “कानुन निर्माणको महत्व त्यसको कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ। हामी कानुन निर्माण र कार्यान्वयन दुवैमा उत्तिकै गम्भीर छौं,” उनले भने।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री