शेयर बजार बुधवारदेखि पुनः सञ्चालन गर्ने तयारी
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आउने बुधवारदेखि शेयर बजार पुनः सञ्चालन गर्ने तयारी गरेको छ।
जेनजी प्रदर्शनका कारण गएको भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार खोल्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डको निर्देशनको पर्खाइमा रहेको नेप्सेले जनाएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चाँपागाईंले बुधवारदेखि शेयर बजार खोल्ने तयारी भइरहेको बताए।
यसअघि नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले भदौ २४ र २५ गते दुई दिनका लागि शेयर कारोबार बन्द गरेको थियो। त्यसपछि बोर्डले थप एक साता, अर्थात् असोज २ गतेसम्म कारोबार बन्द गर्न निर्देशन दिएको थियो। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९०, उपदफा (१), खण्ड (घ) मा उल्लेखित “धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि बजार बन्द गर्न आदेश दिने” प्रावधानअनुसार कारोबार बन्द गरिएको थियो।
हाल मुलुकमा स्थिति सामान्य बन्दै गएको र नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गरेको अवस्थालाई मध्यनजर गर्दै शेयर बजार खोल्ने निर्णय गरिएको हो। दसैँअघि शेयर बिक्री गरेर खर्च जुटाउन चाहने लगानीकर्ताहरूले बजार बन्द हुँदा रकम प्राप्त गर्न नसकेको गुनासो गरेपछि बोर्डमाथि दबाब बढेको थियो। फलस्वरूप, बजार पुनः सञ्चालन गर्ने तयारी अघि बढाइएको छ।
प्रतिक्रिया