आरबिबि फोकस ४० को इकाई निष्कासन आजबाट सुरु : सर्वसाधारणलाई ८ करोड ५० लाख इकाई उपलब्ध
आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन हुने आरबिबि म्युचुअल फण्ड अन्तर्गतको सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ को इकाई आज (भदौ १८ गते) देखि सार्वजनिक निष्कासनमा ल्याएको छ ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउने भएको हो । यसमा न्यूनतम १ करोड ४० लाख इकाई (कुल बिक्रीको १४ प्रतिशत) कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई (कुल बिक्रीको १ प्रतिशत) योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । निष्कासनको छिटो बन्द मिति भदौ २२ गते तोकिएको छ, तर सबै इकाई बिक्री नभएमा असोज १ गतेसम्म अवधि लम्ब्याउन सकिनेछ ।
१२ वर्ष अवधिको यो योजनामा लगानी गर्न इच्छुकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसबाहेक, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयर अनलाइन सफ्टवेयरमार्फत पनि सि–आस्बा प्रणालीबाट आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।
इकाई निष्कासनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई ‘केयर एनपी ए प्लस’ इस्यूअर रेटिङ्ग दिएको छ । यस्तै, योजना व्यवस्थापकलाई इक्रा नेपालले ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ्ग प्रदान गरेको छ ।
यो योजनाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको धितोपत्रहरुको आन्तरिक मूल्यांकन गरी उच्चतम प्रतिफल दिन सक्ने सम्भावित ४० कम्पनीहरुलाई प्राथमिकतामा राखेर लगानी गर्ने लक्ष्य राखेको छ । आवश्यकता अनुसार ४० भन्दा बढी कम्पनीहरुको शेयरमा पनि लगानी गर्न सकिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया