शनिबार, १ कार्तिक २०८२

मृगौला प्रत्यारोपणबाट साजनले पाए पुर्नजिवन

समयपोष्ट २०८२ भदौ १२ गते १२:१४


जीवनका सपनाहरू कहिलेकाहीँ स्वास्थ्यका कारण अधुरा रहन्छन्, तर साहस र परिवारको साथले तिनलाई पुनः जीवन्त बनाउन सकिन्छ । यस्तै एउटा उदाहरण हुन्, भक्तपुरका साजन खयरगोली । अहिले २९ वर्षका भएका साजनको जीवन चार वर्षअघि अप्रत्याशित मोडमा पुगेको थियो । कतार जान तयारी गरिरहेका उनको विदेश मोह स्वास्थ्य जाँचका कारण सपनामै सीमित भयो । तर, मृगौला प्रत्यारोपणपछि उनी सामान्य जीवनमा फर्किएका छन् ।
चार वर्षअघि साजन कतार जाने तयारीमा थिए । वैदेशिक रोजगारीबाट राम्रो कमाइ गर्ने उनको योजना थियो । तर, विदेश जानका लागि अनिवार्य स्वास्थ्य परीक्षण गराउँदा उनको पिसाबमा प्रोटिनको मात्रा उच्च देखियो । “कहिलेकाहीँ ढाड र कम्मर दुख्ने बाहेक मलाई कुनै समस्या थिएन,” साजन सम्झन्छन् । यो सामान्य समस्या होला भनी उनले जिल्ला जनस्वास्थ्य अस्पतालमा जाँच गराए । त्यहाँका चिकित्सकहरूले भने, “अलि बढी गाह्रो काम गर्दा यस्तो हुनु सामान्य हो ।”
तर, परिवारले जोखिम नलिन सल्लाह दियो । “राम्रो अस्पतालमा जाँच गराउनुपर्छ,” भन्दै उनीहरूले साजनलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा पुर्‍याए । त्यहाँको परीक्षणले सबैलाई स्तब्ध बनायो– साजनका दुवै मृगौलाले काम गर्न छोडिसकेका थिए । “मृगौला ट्रान्सप्लान्ट नै गर्नुपर्ने भइसकेको थियो,” साजनले भने । यो खबरले उनको विदेश जाने सपना चकनाचुर भयो । अब उनको ध्यान स्वास्थ्य उपचारमा केन्द्रित भयो ।
साजनका दुवै मृगौला फेल भएपछि उनलाई डायलाइसिस गर्नुपर्ने भयो । तर, यो प्रक्रिया महँगो र जटिल थियो । “एकपटक डायलाइसिस गर्न ५ देखि ६ हजार रुपैयाँ लाग्छ । निःशुल्क सुविधाका लागि पालो कुर्नुपर्छ, जुन सजिलो छैन,” साजनले आर्थिक भारको पीडा सुनाए । पाँचजनाको परिवारमा माइलो छोरा साजनले ब्याचलर पढ्दापढ्दै छोडेका थिए । परिवारको मुख्य आम्दानी खेतीपातीबाट नै हुन्छ । यस्तो अवस्थामा परिवारले हिम्मत हारेन ।
साजनकी आमाले आफ्नो एउटा मृगौला दान गर्ने निर्णय लिइन् । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. पुकारचन्द्र श्रेष्ठको टिमले सफलतापूर्वक मृगौला प्रत्यारोपण गर्‍यो । “प्रत्यारोपण गरेको एक सातामै म अस्पतालबाट डिस्चार्ज भएँ,” साजनले खुसीसाथ भने । अहिले उनी सामान्य जीवन जिउँदै छन् । “पहिले जस्तै हिँडडुल गर्न कुनै समस्या छैन । आमालाई पनि कुनै असर परेको छैन ।”
मृगौला समस्या देखिएपछि साजनलाई जीवन नै सकियो जस्तो लागेको थियो । तर, प्रत्यारोपणपछि उनको अनुभव फरक छ । “मृगौला बिग्रिएपछि जीवन समाप्त भयो भनेर निराश हुनुहुँदैन । प्रत्यारोपण गरेपछि पहिले जस्तै जीवन जिउन सकिन्छ,” उनी भन्छन् । तर, यो रोगबाट बच्न उनको सल्लाह छ– नियमित जाँच । “सके महिनामा एकपटक, नसके वर्षमा एकपटक भए पनि क्रेटिनिन जाँच गर्नुहोस् । मृगौला पूरै बिग्रनुअघि थाहा पाए खर्च कम लाग्छ, दुखाइ हुँदैन र प्रत्यारोपण गर्नुपर्दैन ।”
साजनको कथा विपन्न परिवारहरूका लागि विशेष सन्देश बोकेको छ । नेपालमा मृगौला रोगका बिरामी बढ्दै छन्, तर जाँच र उपचारको पहुँच सीमित छ । “आर्थिक रूपमा कमजोरहरूलाई यो रोगले निकै भार पार्छ,” साजनले भने । स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा वार्षिक हजारौंले मृगौला समस्या भोग्छन्, तर धेरैले समयमै जाँच गर्दैनन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री