बिहीबार, २३ असोज २०८२

नेपाल लाइफ र राउन्ड टेबल नेपालद्वारा सगरमाथामा ५,००० किलो फोहोर संकलन

समयपोष्ट २०८२ भदौ ६ गते १३:२३

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियानअन्तर्गत सगरमाथामा थुप्रिएको ५,००० किलोग्राम फोहोर संकलन गरेको छ। कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर संकलनसम्बन्धी प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का प्रतिनिधिहरू, फोहोर व्यवस्थापन र रिसाइक्लिङमा योगदान पुर्‍याउँदै आएको खालिसीसीका प्रतिनिधिहरूको उपस्थिति थियो।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियानमा राउन्ड टेबल नेपाल र एसपिसिसीसँग सहकार्य गरेको बताउनुभयो। पहिलो चरणमा ५,००० किलोग्राम फोहोर संकलन गर्न सफल भएकोमा सहभागी सबैलाई धन्यवाद दिँदै सगरमाथाको सौन्दर्य कायम राख्न र वातावरण संरक्षणका लागि नेपाल लाइफ सधैं प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। “सगरमाथा नेपालको मात्र नभई विश्वकै गहना हो, यसको संरक्षण हाम्रो कर्तव्य हो,” पराजुलीले भन्नुभयो।

राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५,००० किलो फोहोर संकलन गरिएको र आगामी दिनमा २५,००० किलो फोहोर व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा राउन्ड टेबल नेपालले काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुरिएको र नकुहिने फोहोरलाई ३० किलोको झोलामा काठमाडौं ल्याइएको जानकारी दिँदै खालिसीसीको सहकार्यमा रिसाइक्लिङ गर्ने योजना रहेको उहाँले बताउनुभयो।

Advertisement

सगरमाथा, विश्वको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौं पर्वतारोहीहरूलाई आकर्षित गर्छ, तर मानव गतिविधिका कारण फोहोरको डंगुर बन्दै गएको छ। त्यागिएका टेन्ट, अक्सिजन सिलिन्डर, खानेकुराको प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरूका कारण सगरमाथालाई “विश्वकै सबैभन्दा अग्लो फोहोर थलो” बन्नबाट जोगाउन यो अभियान सुरु गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री