मन्त्री घिसिङद्वारा विद्युत् भार प्रेषण केन्द्रको अनुगमन, छिनछिनमा बत्ती जाने समस्यालाई तत्काल सम्बोधन गर्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गर्दै मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात र बाढी-पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरूको अवस्थाबारे जानकारी लिए।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गुनासो आएको भन्दै विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा प्राविधिक सुधारका विषयमा छलफल गरे। उनले बाढी-पहिरोले क्षति पुर्याएका संरचनाको तत्काल मर्मत गरी विद्युत् सेवा सुचारु गर्न र छिनछिनमा बत्ती जाने समस्यालाई तत्काल सम्बोधन गर्न उच्च प्राथमिकता दिन प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिए।
मन्त्री घिसिङले विद्युतगृह, प्रसारण लाइन र सबस्टेसनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिन र आगामी हिउँदको विद्युत् व्यवस्थापनमा जुट्न आग्रह गरे।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले देशभित्र खपत भई बाँकी रहेको विद्युत् दैनिक औसत १ हजार मेगावाट निर्यात भइरहेको जानकारी दिए। चालू आर्थिक वर्ष २०८२–८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा तथा द्विपक्षीय मध्यकालीन सम्झौतामार्फत हरियाणा र बिहारमा विद्युत् बिक्री भइरहेको छ। साथै, भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतमा भारतीय रुपैयाँ (भारु) र बङ्गलादेशमा अमेरिकी डलरमा विद्युत् बिक्री भइरहेको छ। प्राधिकरणले भारत र बङ्गलादेशमा गरी कुल १ हजार १६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त गरेको छ।
प्रतिक्रिया