भदौ ३ देखि भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’, १९ चारपांग्रे, १३ व्यावसायिक सवारी र ४ दुईपांग्रे ब्रान्ड प्रदर्शन हुने
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ। यो शोले देशको मोटर उद्योगमा नयाँ आर्थिक गतिविधि र नवप्रवर्तन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।
‘गो फर मोर’ नारासहित आयोजना हुने यस शोले नवीनतम प्रविधि, दिगो मोबिलिटी र स्मार्ट यातायातको अवसर प्रस्तुत गर्दै अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीलाई एकीकृत गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने तय भएको छ, जसले आर्थिक नीति र उद्योग प्रवद्र्धनमा थप प्रेरणा दिने विश्वास गरिएको छ।
शोमा १९ चारपांग्रे, १३ हल्का व्यावसायिक सवारी र ४ दुईपांग्रे ब्रान्ड प्रदर्शन हुनेछन्। साथै, ३५ ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरूको सहभागिता रहनेछ। १२५ भन्दा बढी प्रदर्शक र १ लाखभन्दा बढी अवलोकनकर्ताको उपस्थिति अनुमान गरिएको छ। ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनीसहित यो नेपालको सबैभन्दा ठूलो अटो शो बन्ने दाबी गरिएको छ।
आर्थिक लाभका लागि शोको टाइटल स्पोन्सर एमएडब्ल्यु वृद्धि, को-स्पोन्सर शिखर इन्स्योरेन्स, पावर्ड बाइ क्याम्पा कोला, मोबिलिटी पार्टनर यांगो र एक्सक्लुसिभ टिकटिङ पार्टनर खल्ती बाइ आईएमई रहने छन्। भाद्र २ सम्म अग्रिम टिकटमा २०% क्यासब्याक सुविधा उपलब्ध हुनेछ। नेपाल ल्युब तेलले १२ विजेतालाई एक वर्ष निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गर्ने घोषणा गरेको छ।
शोले विन्टेज मोटर प्रदर्शनी, मेड इन नेपाल प्याभिलियन, इन्टरनेसनल बिजनेस प्याभिलियन र ईभी/स्मार्ट मोबिलिटी सेमिनारमार्फत लगानी र व्यापारिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। नाडाका अध्यक्ष करण चौधरीले १६ सफल संस्करण र अग्रणी ब्रान्डको सहभागिताले यो शोलाई आर्थिक मञ्चको रूपमा स्थापित गरेको बताएका छन्।
प्रतिक्रिया