विवादित काश्मीरमा सामूहिक हिन्दू तीर्थयात्रा सम्पन्न
पाकिस्तानसँगको द्वन्द्वको केही हप्तापछि सुरक्षा चिन्ताहरूलाई वेवास्ता गर्दै विवादित भारत प्रशासित काश्मीरमा महिनाभरको तीर्थयात्रामा चार लाखभन्दा बढी हिन्दूले भाग लिएको अधिकारीहरूले बताएका छन् ।
तीर्थयात्रा जुलाई ३ मा सुरु भएको थियो र अगस्ट ९ मा आधिकारिक रूपमा समाप्त हुनेछ, तर आयोजकहरूले तीव्र वर्षाले साँघुरो बाटोहरूमा क्षति पु¥याएकाले समयअघि नै अन्त्य गर्न बाध्य भएको बताएका छन् ।
अधिकारी विजय कुमार बिधुरीले शनिबार राति एक वक्तव्यमा चार लाख १५ हजार तीर्थयात्रीले भाग लिएको जानकारी दिनुभयो ।
धेरै भक्तजनले पहलगाम नजिकैबाट अमरनाथ बरफ स्तम्भमा आफ्नो यात्रा सुरु गरेका थिए । पहलगाममा अप्रिल २२ मा बन्दुकधारीहरूले मुस्लिम बहुल क्षेत्रमा २६ जना हिन्दू पर्यटकको हत्या गरेका थिए ।
नयाँदिल्लीले बन्दुकधारीहरूलाई पाकिस्तानको समर्थन रहेको बताएको छ । इस्लामाबादले उक्त दाबीलाई अस्वीकार गरेको छ । पहलगाम घटनापछि कूटनीतिक बदलाबदली उपायहरूको शृङरखला सुरु ग¥यो, जुन चार दिनको द्वन्द्वमा परिणत भयो ।
सन् १९९९ पछि आणविक–सशस्त्र यी दुई मुलुकले गरेको यो सबैभन्दा खराब गतिरोध थियो । मे १० को युद्धविरामअघि दुवै पक्षमा मिसाइल, ड्रोन र तोप आक्रमणबाट ७० भन्दा बढी मानिस मारिएका थिए ।
नयाँदिल्लीले गत हप्ता पहलगाम आक्रमण गर्ने तीनजना पाकिस्तानी पुरुष जुलाई २८ मा गुफा मन्दिर रहेको पहाडको छेउमा रहेको जङ्गलमा भएको गोली हानाहानमा मारिएको बताएको थियो ।
केही भक्तजनले अझै पनि गुफाको भ्रमण गर्न सक्छन्, तर यस वर्षको सङ्ख्या २०२४ मा भाग लिने अनुमानित पाँच लाख भक्तभन्दा कम छ ।
अधिकारीहरूले हिन्दूहरूलाई तीर्थयात्रा गर्न अपील गरे । घटनाका लागि सुरक्षा बढाउँदै उच्च प्रविधिका निगरानी उपकरणहरूसहित ४५ हजार सेना परिचालन गरेर विनाशका देवता शिवलाई समर्पित गुफाको कठिन पदयात्रा निरीक्षण गरे ।
आइतबार अमरनाथ तीर्थयात्राबाट टाढा रहेको कुलगाममा भारतीय सेना र बन्दुकधारीबीच तेस्रो दिन पनि गोली हानाहान भएको थियो ।
सैनिकहरूले दुई जना लडाकूलाई मारेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले यसको केही भाग व्यवस्थापन गर्छन् र पूर्ण रूपमा दाबी गर्छन् ।
विद्रोही समूहहरूले काश्मीरको स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन् ।
प्रतिक्रिया