बस्तीमाथि पहिरो :पाँचधारे बजार जोखिममा
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो ।
बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उहाँको भनाइ छ ।
“पाँचधारे बजार पहिराको जोखिमा परेको छ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षात् भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।” बजार क्षेत्रका आठवटा घर पहिराको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ ।
अहिले पनि जमिन चर्किएको स्थानमा सामन्य पहिरो गइरहेको अध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो । समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया