‘थालेका काम सक्ने’ सङ्कल्पसँगै देखिन थाले विकास निर्माणका प्रगति
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष व्यतित हुँदा विकास निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाका कामले गति लिन थालेका छन् ।
‘थालेका काम सक्ने’ भन्ने प्रधानन्त्री ओलीको सङ्कल्प र त्यस सङ्कल्पलाई कार्यान्वयनका लागि मन्त्री र सचिवहरूलाई विभिन्न समयमा उहाँले दिनुभएको निर्देशनसँगै प्रगति देखिन थालेको हो ।
निर्माणाधीन आयोजना सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माणाधीन विकास आयोजनाहरूको तीव्र अनुगमन गरी विकासको गति र कार्यसंस्कृतिमा सुधार ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयले नियमित अनुगमन र फलोअप गरिरहेको छ ।
अघिल्लो सरकारको कार्यकालमा रोकिएका, झमेला भएका, ढिलासुस्ती देखिएका, रुख कटान र न्यून बजेटलगायत समस्या व्यहोरेका आयोजनालाई प्रधानमन्त्री ओली आफैँले विशेष चासो दिएपछि प्रगति देखिन थालेका हुन् ।
वर्तमान सरकारले राष्ट्रिय राजमार्गका रूपमा रहेको मुग्लिङ–पोखरा सडक (पूर्वी खण्ड) सम्पन्न हुने अवस्थामा पुर्याइएको छ भने ठप्प प्रायः रहेको कमला–कञ्चनपुर सडकको निर्माण कार्यलाई सुचारु बनाइ सो खण्डमा ६६ प्रतिशत उपलब्धि हासिल गरेको छ । अघिल्लो सरकारका पालामा ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको नारायगढ–बुटवल सडक खण्डमा प्रधानमन्त्री आफैँले अग्रसरता लिएपछि ७० प्रतिशतभन्दा बढी काम भइसकेको छ ।
प्रवेशविन्दुमा रेखाङ्कनको विवादका बीच काठमाडौँ–तराई–मधेस द्रूूतमार्गमको प्रगति ३५ प्रतिशतबाट बढेर ४२ दशमलव १३ प्रतिशत पुगेको छ । यस्तै, काँकडभिट्टा–लौकही पूर्वी खण्डमा ६ प्रतिशतबाट २२ दशमलव १२ प्रतिशत, पश्चिम खण्डमा ४ दशमलव ७ प्रतिशतबाट २२ दशमलव १ प्रतिशत पुगेको छ । मुग्लिङ–पोखरा सडकको पूर्वीखण्ड ६० प्रतिशतबाट ८२ दशमलव ७४ प्रतिशत पुगेको छ भने पश्चिम खण्ड ४५ प्रतिशतबाट ५४ दशमलव १ प्रतिशतमा पुगेको प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।
यसैगरी, नागढुङ्गा सुरूङमार्गको प्रगति ६६ प्रतिशतबाट ९२ दशमलव ५ प्रतिशत, सिद्धबाबा सुरूङमार्ग सडकको प्रगति १६ प्रतिशतबाट ५८ दशमलव ३ प्रतिशतमा उक्लिएको उहाँले बताउनुुभयो । केही आयोजनाहरू जस्तै कमला–ढल्केवर–पथलौया सडक र बुटवल–गौरुसिङ्गे–चनौटा सडक २०८१/८२ मा मात्र सुरू गरिएका हुन्, जसमा प्रारम्भिक प्रगति क्रमशः १० दशमलव ९१ र १२ दशमलव २३ प्रतिशत छ । कालिगण्डकी करिडोरमा ६४ दशमलव ८ बाट ७९ दशमलव ८ प्रतिशत, बेनी–जोमसोम–कोरोला खण्डमा ७२ बाट ८५ प्रतिशत र तमोर करिडोरमा २५ बाट ५६ प्रतिशत प्रगति भएको छ ।
प्रधानमन्त्री ओलीकै सक्रियतामा तराई मधेस फास्ट ट्रयाकदेखि पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकहीखण्ड, मध्यपहाडी राजमार्ग सडक विस्तार र स्तरोन्नतिले गति लिएका छन् । प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार लामो समयसम्म अन्योलमा रहेको बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक निर्माणका लागि यस सरकारले विशेष अनुगमन गरी साइट क्लिएर गराई ठेक्का सम्झौताको चरणमा पुर्याइएको छ ।
हाल सो सडकमा रुख कटान, साइट क्लियरेन्सलगायत काम सकेर १२ प्रतिशत प्रगति भइसकेको अवस्था छ । यस सरकारले मुलुकमा पूर्व–पश्चिम राजमार्गभित्र आठ मुख्य खण्डमा छुट्याएर काम गरिरहेको छ भने नेपाल, भारत र चीनबीचको व्यापारिक तथा रणनीतिक मार्ग मानिएका उत्तर दक्षिण लोकमार्ग प्राथमकिता दिँदै हुम्लालाई राष्ट्रिय सडक पहुँचमा जोडेको छ ।
नेकपा (एमाले) र नेपाली कांग्रेससहितको अहिलेको सरकारले मुलुकभर एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणसहित राष्ट्रिय मार्गचित्रका आयोजना सुरूवात गरेको थियो । यो सरकारले सडक पूर्वाधारमा एसियन मापदण्डस्तरको राष्ट्रिय राजमार्ग निर्माण, लोकमार्ग निर्माण, सडक लेन विस्तार, सुरूङ मार्ग निर्माणलगायत पूर्वाधार निर्माणमा आफूलाई केन्द्रित गर्दै आइरहेको छ ।
विगतमा ओली सरकारकै पालामा नेपाल सुरूङ मार्गमा प्रवेश गरेको हो र नागढुङ्गा सुरूङ मार्गमा छिट्टै निर्वाध रूपमा सवारीसाधन गुड्ने तयारीमा सरकार लागेको छ । प्राविधिक हिसाबले चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरूङमार्गमा ५८ प्रतिशत काम भई नयाँ आयाम थपिएको छ । ओली सरकारले ग्वार्के फ्लाइओभर आयोजना सम्पन्न गरेको छ । यस प्रविधि र पहुँच अन्य सहरमा लागू गर्ने रणनीतिमा जुटेको छ ।
यस समयमा हुलाकी राजमार्गले करिब ७३ प्रतिशत समष्टिगत कार्यप्रगति हासिल गरेको छ । यसैगरी अहिलेको सरकारको पालामा कूल सडकको थप नौ सय ३२ किमी सडक कालोपत्र भएको छ । अघिल्लो सरकारको पालामा छ सय ५७ किमी सडक कालोपत्र भएको थियो ।रासस
प्रतिक्रिया