सोमबार, १२ साउन २०८२

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

समयपोष्ट २०८२ साउन ११ गते २१:५९


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त मधेश प्रदेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सरकारले मधेश प्रदेशलाई सुक्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेलगत्तै आज मन्त्रालयमा बसेको आपत्कालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले ढिलो नगरी तत्काल राहतको उपाय अवलम्बन गर्न निर्देशन दिनुभएको हो । उहाँले मधेश प्रदेशका आठ जिल्लामा अहिले खानेपानी र सिँचाइको समस्या भएकाले तत्काल उक्त समस्या समाधान गर्न कार्ययोजना बनाएर १५ दिनभित्र समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

“कागजी प्रक्रिया, ‘टेन्डर’ झन्झट, खरिद प्रणालीको जटिलता र कानुनी विकल्प प्रयोग गरेर जनतालाई तत्काल राहत दिनुहोस्,” मन्त्री खड्काले भन्नुभयो । सिँचाइका लागि डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउनेजस्ता उपाय तत्काल सुरु गर्नुपर्ने उहाँले बताउनुभयो ।

ढिलो रोपाइँ गर्नु परे पनि कम पानीमा उच्च उत्पादन दिन सक्ने उन्नत जातका धानको बीउ तथा आवश्यक कृषि उपकरणको प्रयोगलाई प्रोत्साहन दिनुपर्ने उहाँको भनाइ थियो । सिँचाइका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र र साधन प्रयोग गरेर जनतालाई सहजता दिनुपर्ने मन्त्री खड्काले बताउनुभयो ।

बैठकमा मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री