बिहीबार, ८ साउन २०८२

कृषि विकास बैंक कर्मचारी संगठनको स्मारिका विमोचन कार्यक्रम सम्पन्न

समयपोष्ट २०८२ साउन ७ गते १३:५५

कृषि विकास बैंक कर्मचारी संगठन नेपाल केन्द्रीय समितिद्वारा आयोजित संगठन स्मारिका सृजना २३औं अंक विमोचन कार्यक्रम मंगलवार मुख्य कार्यालय हलमा सम्पन्न भएको छ। पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उक्त स्मारिका विमोचन गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सरकारले अर्थतन्त्र सुधारका लागि प्रभावकारी कदम नचालेको र आर्थिक वर्ष ०८२/०८३ को बजेट परम्परागत ढंगले आएकाले अर्थतन्त्र चलायमान हुन नसकेको बताए। उनले बजेटले अर्थतन्त्रका चुनौती सामना गर्न नसकेको र सबै सूचकमा उल्लेख्य सुधारको संकेत नदेखिएको उल्लेख गरे। यद्यपि, नेपाल राष्ट्र बैंकको हालैको मौद्रिक नीतिले केही आशा जगाएको उनको भनाइ थियो।

पुनले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा देखिएको समस्या हटाउन सरकार असफल भएको बताए। केन्द्रीय बैंकले हरेक महिना ५० देखि ६० अर्ब रुपैयाँ बैंकहरूबाट खिच्ने गरेको र ७ खर्ब लगानी योग्य रकम मौज्दात रहँदा पनि बजारको मनोबल नउठेको उनले उल्लेख गरे। दुई तिहाइको सरकारले आर्थिक क्षेत्रमा आशा जगाउन नसकेको र वित्त नीति प्रभावकारी नभएको उनको टिप्पणी थियो। मौद्रिक नीतिले केही सुधारको प्रयास गरे पनि वित्त नीतिको कमजोरीले अनुत्पादक क्षेत्रमा लगानी बढ्न सक्ने खतरा रहेको उनले औंल्याए। कोभिड–१९ पछि ल्याइएको पुनर्कर्जा नीति राम्रो भए पनि अनुत्पादक क्षेत्रमा लगानी भएकाले अर्थतन्त्र तीन वर्षसम्म सुस्ताएको उनले बताए।

कर्जाको ६० प्रतिशतभन्दा बढी हिस्सा सीमित व्यक्तिहरूले प्रयोग गरेको र कृषि, उद्योग, सेवा क्षेत्रमा कर्जा प्रवाह कम भएको उनले चर्चा गरे। व्यापारले कर्जाको ठूलो हिस्सा ओगटेकाले प्रतिफल कम आएको र कुल गार्हस्थ उत्पादनभन्दा बढी कर्जा प्रवाह हुँदा पनि अर्थतन्त्रमा योगदान नपुगेको उनको भनाइ थियो। संसदमा विचाराधीन बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) मा बैंकर्स र व्यवसायीलाई छुट्याउने विषयमा बहस भइरहेको उनले बताए। संघीयताको मर्मअनुसार हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुग्नुपर्नेमा उनले जोड दिए।

चालु आर्थिक वर्षको बजेटमा कर्मचारी अवकाश कोषलाई सामाजिक सुरक्षा कोषमा बाध्यकारी रूपमा लैजाने नीति कर्मचारीको हितमा नभएको भन्दै पुनले यसलाई स्वेच्छिक बनाउनुपर्ने सुझाव दिए। कार्यक्रममा संगठनका अध्यक्ष इन्द्रमणी घिमिरे, बैंकका सिईओ गोविन्द गुरुङलगायतले आ–आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री