बिहीबार, ८ साउन २०८२

निफ्राको बढ्यो वितरणयोग्य मुनाफा

समयपोष्ट २०८२ साउन ७ गते ९:५७

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८६ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँको तुलनामा कम हो। खुद ब्याज आम्दानी २५.५१ प्रतिशतले घट्दा बैंकको नाफामा पनि असर परेको छ। यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने ७९.७३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २५.०३ प्रतिशत र सञ्चालन मुनाफा १३.६९ प्रतिशतले घटेको छ।

नाफामा कमी आए पनि बैंकको वितरणयोग्य मुनाफा भने बढेको छ। समीक्षा अवधिमा यस्तो मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी ८६ पैसाले घटेर ५ रुपैयाँ ३० पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५९.९६ गुणा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो एक वर्षमा बैंकको निक्षेप ८२६.६५ गुणाले र कर्जा १८.९० प्रतिशतले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री