भुक्तानी संस्थाहरूका लागि नयाँ लाभांश नीति जारी
नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूका लागि लाभांश वितरणसम्बन्धी नयाँ मार्गदर्शन, २०८२ जारी गरेको छ। आइतबार जारी गरिएको यो मार्गदर्शनले यस्ता संस्थाहरूलाई विभिन्न कोषहरूमा पर्याप्त रकम जम्मा गरेपछि मात्र लाभांश वितरण गर्न अनुमति दिने व्यवस्था गरेको छ।
मार्गदर्शनअनुसार, भुक्तानी सम्बन्धी कार्य गर्ने कम्पनीहरूले जोखिम बहन कोष, जगेडा कोष र पूर्वाधार विकास कोषमा तोकिएको रकम जम्मा गर्नुपर्नेछ। साथै, नियमकीय पुँजी कायम गर्ने, कारोबारको निरन्तर वृद्धि सुनिश्चित गर्ने र जोखिम व्यवस्थापन क्षमता विकास गर्ने उद्देश्यले लाभांश वितरण गर्नुपर्ने उल्लेख छ।
नेपाल राष्ट्र बैंकले लाभांश वितरणका लागि कडा शर्तहरू पनि तोकेको छ। संस्थाहरूले सञ्चित मुनाफा ऋणात्मक नहुने गरी, नाफा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्नेछ। यस्तै, शेयर प्रिमियम वा बार्गेन पर्चेज गेनबाट नगद लाभांश वितरण गर्न नपाइने र संस्थाको नेटवर्थ ऋणात्मक हुन नहुने प्रावधान राखिएको छ।
संस्थाहरूलाई आफ्नो लाभांश नीति तर्जुमा गर्दा नियमकीय पुँजी कायम गर्ने योजना, नगद लाभांश र शेयर लाभांशसम्बन्धी नीतिहरू समावेश गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ। यो व्यवस्थाले व्यवसायको निरन्तरता र वित्तीय स्थायित्व सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया