सोमबार, ५ साउन २०८२

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज प्रस्ताव, पदाधिकारी संख्या ११ मा झार्ने

समयपोष्ट २०८२ साउन १ गते २१:११

नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश भएको छ।

यो प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने र पदाधिकारी संख्या १९ बाट घटाएर ११ कायम गर्ने उल्लेख छ।

उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको यो प्रस्तावमा अध्यक्षसहित ३ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ५ सचिव रहने व्यवस्था गरिएको छ। हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका ईश्वर पोखरेलले यो प्रस्तावप्रति असहमति जनाएका छन्।

प्रस्तावित विधान संशोधनमा ७० वर्षको उमेर हद र २ कार्यकालको सीमा हटाइएको छ। यी व्यवस्था हटाउनुपर्ने आधार र तर्कमाथि छलफल गर्नुपर्ने माग उठेपछि बैठक लम्बिएको छ। बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा जिम्मेवारी दिने विषयमा पनि छलफल भइरहेको छ।

संशोधित विधानमा केन्द्रीय कमिटीको संख्या १९९ कायम गरिएको छ। यसअघि १० औं सौराहा महाधिवेशनले केन्द्रीय कमिटीको संख्या २२५ बाट बढाएर ३०१ पुर्‍याएको थियो। मनोनयनका कारण यो संख्या थप बढेको थियो।

पदाधिकारी संख्या घटाउँदा केही नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले असन्तुष्टि व्यक्त गरेका छन्। खासगरी पोखरेलले विद्या भण्डारीको समूहमा रहेको चर्चा भइरहेका बेला उनको पद खारेजीको प्रस्ताव आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री