हिमालयन क्यापिटल र एसियन ब्याट्रीज बीच धितोपत्र निष्काशन सम्झौता सम्पन्न
नेपाली पुँजी बजारमा नवीनतम सेवाहरू प्रदान गर्दै आएको हिमालयन क्यापिटल लिमिटेडले औद्योगिक तथा ऊर्जा आत्मनिर्भरता क्षेत्रको प्रतिनिधित्व गर्ने एसियन ब्याट्रीज लिमिटेडसँग साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्झौता सम्पन्न गरेको छ। मिति २०८२ असार ३१ गते भएको सम्झौता समारोहमा हिमालयन क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र एसियन ब्याट्रीज लिमिटेडका अध्यक्ष सुरेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।
सन् २०१३ देखि व्यावसायिक उत्पादन सुरु गरेको एसियन ब्याट्रीज लिमिटेडको उद्योग तथा रजिष्टर्ड कार्यालय मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–४ मा अवस्थित छ। हाल कम्पनीको सम्पर्क कार्यालय ललितपुर, सानेपामा रहेको छ। कम्पनीको जारी पुँजी रु. ६५ करोड रहेकोमा यसले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् रु. १३ करोड बराबरको १३ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ।
नेपालको सूचना प्रविधि, कृषि, र रियल इस्टेट क्षेत्रका प्रभावशाली व्यक्तिहरूद्वारा स्थापित यो कम्पनीले छोटो समयमै गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादनमा आफूलाई विश्वसनीय नेपाली ब्रान्डको रूपमा स्थापित गरेको छ। कम्पनीले सवारीसाधन, विद्युतीय रिक्सा, स्कूटर, मोटरसाइकल, र सोलारमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको छ। साथै, विभिन्न प्रकारका ब्याट्री प्रशोधन गरी लिड अक्साइड उत्पादन र आन्तरिक बजारमा बिक्री–वितरण गर्दै आएको छ।
एसियन ब्याट्रीजले निकट भविष्यमा लिथियम ब्याट्री उत्पादन गर्ने, प्रयोग भएका ब्याट्रीको पुनःप्रशोधन गर्ने, र नेपालको सबैभन्दा विश्वसनीय पावर सोलुसन ब्रान्ड बन्ने उद्देश्य राखेको छ। कम्पनीले गुणस्तरीय, भरपर्दो, वारेन्टीसहितका उत्पादन र छिटोछरितो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। ललितपुरस्थित सम्पर्क कार्यालय र देशका प्रमुख स्थानहरूमा रहेका १० वटा शाखामार्फत कम्पनीले आफ्ना उत्पादन र सेवाको सहज पहुँच सुनिश्चित गरेको छ।
प्रतिक्रिया