सोमबार, ९ असार २०८२

लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

समयपोष्ट २०८२ असार ८ गते १५:४१

Advertisement

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भए पनि रायमाझी फरार रहेको प्रहरीले जनाएको छ।

जनमत पार्टीकै अर्की नेतृ आशा कुमारी चौहानले बैंकिङ कसुरको आरोपमा सुमनविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन्। चौहानका अनुसार रायमाझीले आफूबाट साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् र त्यसको आधा रकम बराबरको दुई वटा चेक दिएकी थिइन्। तर ती चेक साट्न जाँदा बाउन्स भएका थिए। चौहानका अनुसार पछि थप दुई वटा चेक दिइए पनि ती पनि असफल भएका थिए।

यसपछि चौहानले चेक अनादर तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते सुमनको स्थायी ठेगाना बर्दिया भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियालाई पत्राचार गर्दै रायमाझीलाई पक्राउ गरी बुझाइदिन अनुरोध गरेको छ।

प्राप्त विवरणअनुसार रायमाझी पर्सामा आयोजित पार्टी कार्यक्रमको क्रममा चौहानको घरमै बसेकी थिइन्। चौहानका अनुसार दुई दिनको कार्यक्रम सकिए पनि रायमाझी विभिन्न बहानामा १० दिनसम्म आफ्नो घरमै बसिन्। त्यसबेला होटल खर्च, खानपानलगायतका लागि नगद २० हजार रुपैयाँ पनि आफूले दिएको चौहानले दाबी गरेकी छन्।

Advertisement

यस्तै, वीरगञ्जस्थित चौहानको कपडा पसलबाट रायमाझीले पटकपटक कपडा पनि उधारोमा लिएको चौहान बताउँछिन्। “प्रदेशसभा सदस्य भएकाले पैसा फिर्ता आउला भन्ने लागेको थियो,” उनले भनिन्।

सुमन रायमाझीले आफूलाई बहिनी भन्ने, परिवारसँग घुलमिल हुने गरे पनि अन्त्यमा विश्वासघात भएको चौहानको आरोप छ। “पैसा छैन, मन्त्री बन्ने तयारीमा छु भनेर विश्वासमा पारेर पैसा लगिन्,” चौहानले भनिन्, “पार्टीभित्र बारम्बार गुनासो गर्दा पनि कसैले वास्ता नगरेपछि कानुनी बाटो रोज्नुपर्‍यो।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री