स्टार्टअप उद्यम कर्जा : ८१ उद्यमीले लिए ९ करोड ७ लाख
चालु आर्थिक वर्ष २०८१/८२ मा स्टार्टअप उद्यम कर्जा वितरण सुरु भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार छनोट भएका ६६१ उद्यमीमध्ये ८१ जनाले ९ करोड ७ लाख रुपियाँ कर्जा प्राप्त गरेका छन् । साथै, १०० उद्यमीले कर्जा लिन खाता खोलेका छन् ।
प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले असार मसान्तसम्म सबै छनोट भएका उद्यमीलाई कर्जा वितरण गरिसक्ने बताउनुभयो । छनोटमा परेका उद्यमीले ५ लाखदेखि २५ लाख रुपियाँसम्म कर्जा पाएका छन् । कर्जा सम्बन्धित जिल्लाका राष्ट्रिय वाणिज्य बैंकमार्फत वितरण गरिएको छ ।
कार्यविधिअनुसार ५ लाखसम्मको कर्जा एक किस्तामा, १५ लाखसम्मको दुई किस्तामा र त्यसभन्दा माथिको तीन किस्तामा वितरण गरिन्छ । बैंकले स्थलगत निरीक्षणपछि मात्र कर्जा प्रदान गर्ने गरेको छ ।
प्रतिष्ठानले गत भदौ ११ मा परियोजना प्रस्ताव आह्वान गरेको थियो । ५,१५८ उद्यमीले प्रस्ताव दर्ता गरेका थिए, जसमध्ये १,३१४ जना प्रस्तुतीकरणका लागि छनोट भए । पुस अन्तिम सातादेखि चैत दोस्रो सातासम्म १,०७३ उद्यमीले परियोजना प्रस्तुतीकरण गरेका थिए ।
चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जाका लागि १ अर्ब रुपियाँ विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा १६५ उद्यमीलाई २१ करोड रुपियाँ कर्जा वितरण भएको थियो । सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न यो कार्यक्रम सञ्चालन गरेको हो ।
कर्जा प्राप्त गर्ने उद्योगमा कृषि, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघुउद्यम, निर्माण सामग्री, गार्मेन्ट, खाद्य प्रशोधन, क्याफे, स्पोर्ट्सलगायत क्षेत्र समावेश छन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा स्टार्टअप कर्जाका लागि ७३ करोड रुपियाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया