द्रुतमार्ग सुरु विन्दु डुकुछापमा कायम गर्न प्रधानमन्त्रीसमक्ष खोकनावासीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु सम्बन्धी विवाद समाधानका लागि आज ललितपुरको खोकना र बुङमती क्षेत्रका स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न छलफलमा प्रधानमन्त्री ओलीले जनचासो सम्बोधन गर्दै स्थलगत अवलोकनपछि मात्र निर्णय लिइने प्रतिबद्धता जनाएका छन्।
करिब २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतमा निर्माणाधीन यो राष्ट्रिय गौरवको आयोजना ७०.९७ किलोमिटर लामो छ र यसले राजधानी काठमाडौँलाई तराई–मधेश क्षेत्रसँग जोड्ने लक्ष्य लिएको छ। आयोजनाको सुरुवात वि.सं. २०७४ मा भएको हो भने २०७८ चैतसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, जसलाई संशोधित गर्दै अब २०८३ चैतसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।
आजको छलफलमा तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, एमाले ललितपुर महानगर अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, र वडा नं. २१ अध्यक्ष ज्ञानभक्त महर्जनले खोकनाको सांस्कृतिक र ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै आयोजनाको सुरु विन्दु साढे पाँच किलोमिटर तल डुकुछाप सार्न सुझाव दिएका छन्।
रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको छलफलमा प्रधानमन्त्री ओलीले विकासका नाममा जनताको पीडा हुने काम नगर्ने सरकारको नीति दोहोर्याउँदै, सन्तुलित समाधान खोजिने बताए।
यसअघि माघ २३ गते प्रधानमन्त्री ओलीले आयोजनाको प्रगति र चुनौतीबारे सिंहदरबारमा उच्चस्तरीय बैठक गरेका थिए। सो बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।




























प्रतिक्रिया