शुक्रबार, २३ जेठ २०८२

सप्तरीको सुरुङ्गामा डकैती : धारिलो हतियार र गोली प्रहारबाट एकको मृत्यु, एक गम्भीर घाइते

समयपोष्ट २०८२ जेठ २३ गते ९:४६

Advertisement

सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ मा गएराति भएको डकैतीको घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

सप्तरी प्रहरीका अनुसार राति १ बजेको समयमा कान्तलाल चौधरीको घरमा अज्ञात डकैत समूहले लुटपाट गरेको थियो। लुटपाटको प्रतिकार गर्ने क्रममा डकैत समूहले धारिलो हतियार प्रहार र गोली फायरिङ गर्दा घरधनी कान्तलाल चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

सोही क्रममा छिमेकी रामाकान्त चौधरीले कान्तलाललाई बचाउन खोज्दा उनी पनि गम्भीर घाइते भएका छन्। घाइते रामाकान्तको हाल लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार डकैत समूहले घरबाट ५ तोला सुन, २ किलो चाँदी र केही नगद लुटेर लगेका छन्। मृत्युको कारण गोली लागेर वा धारिलो हतियारको प्रहारले भएको भन्ने विषयमा यकिन गर्न बाँकी रहेकोले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Advertisement

हाल प्रहरीले घटनाको थप अनुसन्धानलाई तीव्रता दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री