अग्नि सापकोटा र सांसद दोङविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने
सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा र काभ्रे–१ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान अघि बढाउन उत्प्रेषण आदेश जारी गरेको छ। यो आदेशसँगै १२ वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको मुद्दामा औपचारिक अनुसन्धानको बाटो खुलेको छ।
माओवादी सशस्त्र द्वन्द्वकालमा २०६२ साल वैशाख १६ गते काभ्रेपलाञ्चोकको श्रीकृष्ण माध्यमिक विद्यालयबाट अर्जुन लामालाई अपहरण गरिएको थियो। केही समयपछि असारको दोस्रो साता बुढाखानी गाविसको चारकिल्ला भन्ने स्थानमा उनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। शान्ति प्रक्रिया शुरू भएपछि अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले सापकोटा, दोङलगायत माओवादी नेताहरूविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
पूर्णिमायाले २०६४ सालमा सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दर्ता गराएकी थिइन् । जसअनुसार पक्राउ पुर्जीसमेत जारी भएको थियो। तर, २०६५ साउन २६ गते तत्कालीन प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले द्वन्द्वकालीन विषय भन्दै फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यसैगरी, २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि फाइल तामेलीमै राख्ने निर्णय गरेपछि अनुसन्धान अघि बढ्न सकेको थिएन।
पूर्णिमायाले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । जसमा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको र अनुसन्धान अघि नबढाएको गुनासो गरिएको थियो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान तथा न्यायाधीशहरु कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले सापकोटाविरुद्ध परेको किटानी जाहेरीमा फौजदारी अनुसन्धान गर्न आदेश जारी गरेको हो ।
प्रतिक्रिया