यातायात क्षेत्रमा हड्ताल नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले सार्वजनिक यातायात क्षेत्रमा गरिएको हड्ताल तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा जेठ १९ गतेदेखि देशव्यापी आन्दोलन थालेको थियो। सो आन्दोलन अन्तर्गत सार्वजनिक यातायात ठप्प पारिएको थियो।
उक्त आन्दोलन विरुद्ध अधिवक्ता विवेक पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गर्दै सार्वजनिक यातायात अत्यावश्यक सेवा भएकाले त्यस क्षेत्रमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान रहेको उल्लेख गरेका थिए। साथै, हड्तालले संविधानको धारा १७ को उपधारा २ मा प्रत्याभूत आवतजावत, पेसा र रोजगारजस्ता मौलिक हकमा अवरोध पुगेको दाबी गर्दै तत्काल हड्ताल फिर्ता गरी यातायात सेवा सुचारु गराउन अन्तरिम आदेशको माग गरिएको थियो।
प्रतिक्रिया