मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग र ध्यान कार्यक्रम सञ्चालन
अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गुल्म हे.क्वा. सन्धिखर्कको सहयोगमा स्वस्थ चेतना र स्वस्थ व्यवहार पालना सम्बन्धी चेतना अभिवृद्धि गरी योग र ध्यानमार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले चारदिवसीय “मानसिक स्वास्थ्य सेवा प्रवर्द्धनका लागि योग र ध्यान कार्यक्रम” सञ्चालन भइरहेको छ। मिति २०८१ फाल्गुण २६ गतेदेखि सुरु भएको यो कार्यक्रम सन्धिखर्क नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गुल्म हे.क्वा. परिसरमा जारी छ।
विश्वव्यापी रूपमा बदलिँदो जीवनशैली, रहनसहन र खानपानका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ, जसमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या पनि प्रमुख रूपमा देखिएको छ। नेपालमा गरिएका अध्ययनहरूले समेत नसर्ने रोगको जोखिमदर बढेको देखाएको छ। योग, ध्यान, स्वस्थ खानपान र व्यवहारको पालनाले मानसिक रोगको रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ। यो कार्यक्रमले समुदायस्तरबाटै सर्ने र नसर्ने दुवै रोगको रोकथाममा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा योगको परिचय, उद्देश्य, महत्त्व, योग अभ्यास गर्दा अपनाउनुपर्ने सावधानी र नियमहरूबारे जानकारी दिइएको थियो। अष्टाङ्ग योग, ध्यान, प्रणायामका विभिन्न विधि, प्रज्ञा योग र योगले मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे सैद्धान्तिक र प्रयोगात्मक अभ्यासहरू प्रस्तुत गरिएको छ। योग शिक्षाले व्यक्तिको संज्ञानात्मक (Cognitive) र मनोचालक (Psychomotor) कार्यमा सकारात्मक प्रभाव पार्ने कुरा विभिन्न अनुसन्धानबाट पुष्टि भएको आयोजकले जनाएका छन्।
कार्यक्रमको अध्यक्षता आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कमल आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गुल्मका प्रमुख भिमसेन बोहरा उपस्थित हुनुहुन्थ्यो। प्रमुख प्रशिक्षक योग गुरु पुष्पा भुसालले प्रयोगात्मक अभ्यास गराउनुभएको थियो भने सहजीकरण योग गुरु अशोक कुमार खनाल, बरिष्ठ कविराज निरीक्षक कमल प्रसाद आचार्य र बैद्य निरीक्षक पशुपति पन्थीले गर्नुभएको थियो।
कार्यक्रममा गुल्मका अधिकृतसहित करिब ३५ जना सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी थिए। चार दिनसम्म चल्ने यो कार्यक्रमले योग र ध्यानको नियमित अभ्यासबाट शारीरिक स्वास्थ्य, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमता वृद्धि, सकारात्मक सोचको विकास र आत्मज्ञान प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
योगलाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक चेतनासहित जीवन जिउने कलाको रूपमा लिइन्छ। यसले जीवनशैलीलाई अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक चुस्तता कायम गर्न मद्दत गर्ने आयोजकको भनाइ छ।
प्रतिक्रिया