नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा सुविधा

नेपाल पर्वतारोहण संघ (NMA) र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीबीच संघका स्रोत सदस्य पदयात्रा एजेन्सीहरू मार्फत पर्वतारोहणका लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी तथा अन्य सहायकहरूको लागि न्यूनतम लागतमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरूको लागि न्यूनतम रु. १५ लाख बराबरको दुर्घटना बीमा, रु. ४ लाख बराबरको स्वास्थ्य उपचार बीमा तथा अमेरिकी डलर १०,००० बराबरको खोज तथा उद्धार बीमा अनिवार्य गरिएको छ। यसैलाई मध्यनजर गर्दै नेपाल पर्वतारोहण संघले सूचीबद्ध २७ चुचुरोहरूका लागि विशेष बीमा योजना ल्याएको हो।
यसअघि पदयात्रा एजेन्सीहरूले महँगो शुल्क तिरेर बीमा गराउनुपर्ने अवस्था रहेकोले नयाँ सम्झौताअनुसार सहुलियत दरमा बीमा योजना लागू गरिनेछ। हालै सम्पन्न सम्झौतामा संघका अध्यक्ष निमानुरु शेर्पा र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन्।
सम्झौतासम्बन्धी जानकारी गत माघ १९ गते संघका अध्यक्ष निमानुरु शेर्पा तथा कम्पनीका नायब कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यले सार्वजनिक गरेका थिए।
नयाँ बीमा योजना आगामी मार्च १, २०२५ बाट लागू हुनेछ।




























प्रतिक्रिया