मंगलबार, २४ असार २०८२

साइबर सुरक्षाका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्रद्वारा ८ पन्ने एडभाइजरी जारी

समयपोष्ट २०८१ माघ १३ गते ८:०९

Advertisement

सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी गरेको छ।

सरकारी वेबसाइट ह्याक हुनु र डाटा चोरीजस्ता समस्या न्यूनीकरण गर्ने उद्देश्यले केन्द्रले यो एडभाइजरी सार्वजनिक गरेको हो।

सरकारी साइटहरूको कमजोर सुरक्षा प्रणालीबारे भइरहेका आलोचनाबीच केन्द्रले सुरक्षाका उपायहरूलाई सुदृढ बनाउन २१ बुँदे निर्देशनसहितको एडभाइजरी जारी गरेको हो। एडभाइजरीमा सरकारी वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज र नेटवर्कको सुरक्षाका लागि विभिन्न उपाय सुझाइएका छन्। डाटाको नियमित रूपमा ब्याकअप राख्ने र अर्काइभ गर्ने, बिजनेस कम्युनिटी प्लान तयार गरेर लागू गर्ने, जेन्युन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग सुनिश्चित गर्ने र पासवर्ड बलियो बनाएर तीन महिनामा परिवर्तन गर्ने जस्ता निर्देशन समावेश गरिएका छन्।

सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्ने, मल्टी फ्याक्टर अथेन्टिकेसनको प्रयोगलाई प्रोत्साहन गर्ने तथा सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी अपनाउने विषय पनि एडभाइजरीमा समेटिएको छ। संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल फोन बन्द गर्न वा सुरक्षित स्थानमा बाहिर राख्न सुझाव दिइएको छ।

Advertisement

राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार यस निर्देशनको मुख्य उद्देश्य सरकारी सूचना प्रविधि प्रणालीहरूको सुरक्षा सुदृढ गर्नु हो। सरकारी कर्मचारीहरूलाई सुरक्षाप्रति सचेत बनाउने र डिजिटल सम्पत्तिहरूको जोखिम न्यूनीकरण गर्नु प्राथमिकता रहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री