मंगलबार, ६ साउन २०८२

त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा हिनामिना

समयपोष्ट २०८१ मंसिर २३ गते १०:०५

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को १ हजार रोपनी जग्गा हिनामिना भएको छानबिन समितिले खुलासा गरेको छ। छानबिनले त्रिविका पदाधिकारीहरू नै यस प्रकरणमा संलग्न रहेको देखाएको छ।

त्रिविको जग्गा खोजबिनका लागि गठित समितिले ३ हजार ७ सय रोपनी जग्गामध्ये १ हजार रोपनी विभिन्न संघ–संस्थाले उपयोग गरिरहेको पत्ता लगाएको हो। समितिका एक सदस्यले भने, “त्रिविको जग्गा विभिन्न संघ–संस्थालाई बाँडिएको र ठूलो मात्रामा मिचिएको प्रमाण भेटिएको छ।”

समितिले त्रिविका पदाधिकारी नै जग्गा बाँडफाँडमा संलग्न रहेको औंल्याउँदै थप अनुसन्धानको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। शिक्षा मन्त्रालयका अधिकारीका अनुसार दोषी पदाधिकारीमाथि कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ।

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरू पुल्चोक र मिनभवनमा रहेको त्रिविको जग्गा समेत हिनामिनाको सूचीमा परेको छ। उपत्यकाबाहिरका जग्गाहरूमा पनि अतिक्रमण भएको देखिए पनि समय अभावका कारण विस्तृत अध्ययन हुन नसकेको समितिको भनाइ छ।

छानबिन समितिले आफ्नो प्रतिवेदन शिक्षा मन्त्रालयलाई बुझाएको छ। प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र अघि बढाइने बताइएको छ। शिक्षा मन्त्री विद्या भट्टराईले यस विषयमा थप निर्णय क्याबिनेटबाट हुने बताइन्।

गत जेठ १८ गते पूर्वसचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा समिति गठन भएको थियो। त्रिताल अस्वस्थ भएपछि समितिको नेतृत्व महेन्द्रकुमार थापालाई दिइएको थियो। समितिमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईं सदस्य थिए।

छानबिन समितिले त्रिविको सम्पत्ति संरक्षणमा गम्भीर चासो देखाउँदै समय अभावका कारण उपत्यकाबाहिर थप अनुसन्धान आवश्यक रहेको बताएको छ। शिक्षा मन्त्रालयले क्याबिनेटको निर्णयपश्चात् प्रतिवेदनअनुसारका आवश्यक कदम चाल्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री