मंगलबार, १८ वैशाख २०८१

विदेशबाट फर्केर अत्याधुनिक बधशाखा सञ्चालन

समयपोष्ट २०७५ असार ८ गते ६:३२

कुस्माबजारमा ठूला पशु चौपाय बध गर्ने अत्याधुनिक पशु बधशाला सञ्चालनमा आएको छ ।

Advertisement

कुस्मामा झण्डै रु एक करोडको लगानीमा बसेल पशु बधशाला सञ्चालनमा आएको छ । अत्याधुनिक ढंगले पशुको बध गर्ने र स्वस्थकर मासु वितरण गर्न सञ्चालनमा आएको सो बधशाला प्रदेश नं ४ कै पहिलो बधशाला हो ।

कुस्माबजारमा रुखका स्याउलामा पशुको बध गर्ने र फोहर डोका र ट्याक्टरमा मासु बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव परेको भन्दै बसेल ताजा मासु पसलका सञ्चालक शिवलाल सार्कीले आधुनिक पशु बधशाला सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँले बिदेशमा १७ वर्ष रोजगारीका क्रममा त्यहाँ सिकेको केही नयाँ सिपलाई आफ्नो देशमा आएर लागू गर्ने योजनाअनुसार यो उद्योग सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

कुस्माबजारको जिरो किमी नजिक निर्माण भएको बधशाला ठूला पशुलाई बध गर्ने आधुनिक तरिकादेखि सफा गर्ने र काट्ने काममा पनि पूरै सुरक्षित र आधुनिक प्रविधि जडान गरिएको छ । यहाँ तयार गरिने मासु डिफ्रिजमा राखेर पोखरासम्म पठाउने र बिक्री गर्ने व्यवस्था मिलाइएको सार्कीले बताउनुभयो।

उहाँले पर्वतको कुस्मा, मोदीगाउँपालिकाको पातीचौर, जलजलाको वारी बेनी र फलेबास नगरपालिकामा बिक्री केन्द्र खोल्ने र मासु सुरक्षित गर्ने डिफ्रिजसहितको गाडीबाट बिक्रीस्थलसम्म ढुवानीको व्यवस्था मिलाउने जानकारी दिनुभयो । पशुपक्षी बजार प्रवद्र्धन आयोजनाले रु ५० लाख अनुदान र सार्कीको रु २० लाखभन्दा बढी नगद उद्योग सञ्चालनमा खर्च भएको छ ।

बधशाला सञ्चालनमा आएपछि १३ जनाले प्रत्यक्ष र सात जनाले अप्रत्यक्ष रोजगारी पाएका छन । सो बधशालाको प्रदेशसभाकी सदस्य जुना नेपालीले बिहीबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उपभोक्ता मञ्चका राष्ट्रिय अध्यक्ष प्रेमलाल महर्जनले धेरै रोग अस्वस्थ्य मासु सेवनका कारण लाग्ने हुँदा यस्ता बधशाला बन्नु उपभोक्ताको स्वास्थ्यका हिसाबले ठूलो उपलब्धि भएको बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री