केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोलमार्फत बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउँदै
केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोलमार्फत बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।
८ वर्ष अवधिको उक्त ऋणपत्र असोज २५ गते शुक्रबार अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ भने असोज २६ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन ।
यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ असोज २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याज कर लाग्नेछ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।
घटीमा रू ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ रू ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।
प्रतिक्रिया