‘नाडा अटो शो’ : गाडी चढ्ने सपना सहजीकरण गरिदिदैँ बैंकहरु

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा मंगलवारबाट शुरु भएको १५ औं संस्करणको ‘नाडा अटो शो’ मा विभिन्न बैंकले ग्राहकको गाडी चढ्ने सपना सहज रुपमा पूरा गर्न सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने योजनाहरु सार्वजनिक गरेका छन् । अटो शो प्रर्दशनस्थल मै बैंकहरुले स्टल राखेर सवारी खरिदकर्तालाई ऋण लगायतका वित्तिय सेवा प्रदान गर्न सहजीकरण गरिरहेका छन् ।
नबिल बैंकले अटो शोमा ईभीको खरिदमा ५ वर्षका लागि १०.४९ प्रतिशत र ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा इलेक्ट्रिक सवारीको फाइनान्सिङ सुविधा दिने जनाएको छ। बैंकले डिजेल पेट्रोल तथा आईसी इन्जिनका लागि ५० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ सुविधा दिएको छ ।

सानिमा बैंकले नाडा अटो शोमा गाडी बुकिङ गर्नेहरुलाई इलेक्ट्रिक र फ्यूल इन्जिन दूबै गाडीमा ७ वर्षका लागि १०.९९ प्रतिशत ब्याजदरमा स्थिर ब्याजमा कर्जा सुविधा दिने प्याकेज ल्याएको छ । सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लिइने बैंकले जनाएको छ ।
हिमालयन बैंकले इलेक्ट्रिक र नन् इलेक्ट्रिक दूबै गाडीका लागि ११.९९ प्रतिशतमा फाइनान्सिङ सुविधा दिने भएको छ । बैंकले इलेक्ट्रिक र नन् इलेक्ट्रिक दूबै खालको गाडीको खरिदमा ८ वर्ष सम्मको कर्जा अवधि हुने गरी फाइनान्सिङ गर्ने भएको छ ।

लक्ष्मी सनराइज बैंकले इलेक्ट्रिक भेहिकल किन्नेहरुकाका लागि आधार दरमा १ प्रतिशत प्रिमीयम जोडेर कर्जा दिने भएको छ । डिजेल पेट्रोलबाट चल्ने गाडीका लागि आधार दरमा १.५ प्रतिशत प्रिमीयम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले इलेक्ट्रिक र डिजेल पेट्रोलबाट चल्ने गाडीका लागि १२.५ प्रतिशतमा ५ वर्षका लागि फिक्स्ड रेटमा पनि फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । नाडा अटो शो अवधिभरका लागि बैंकले सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लिनेछ ।

ग्लोबल आईएमई बैंकले इलेक्ट्रिक गाडीको खरिमा १०.४९ प्रतिशत ब्याजदरमा र ०.५० प्रतिशत सेवा शुल्कमा फाइनान्सिङ गर्ने भएको छ । बैंकले फ्यूल इन्जिन सवारीमा १०.९९ प्रतिशत ब्याजदरमा ०.७५ प्रतिशत सेवा शुल्कमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ । कमर्सियल इलेक्ट्रिक गाडीमा ११.४९ प्रतिशत ब्याजदरमा ०.५० प्रतिशत सेवा शुल्कमा कर्जा सुविधा उपलब्ध गराउने भएको छ । फ्यूल इन्जिन कमर्सियल भेहिकलमा १२.४९ प्रतिशत ब्याजदरमा ०.७५ प्रतिशत सेवा शुल्क लिएर कर्जा सुविधा दिइने बैंकले जनाएको छ । बैंकले नाडा अटो शो अवधिभरीका लागि १०.९९ प्रतिशत फिक्स्ड ब्याजदरमा ०.५० प्रतिशत सेवा शुल्कमा समेत फाइनान्सिङ सुविधा दिएको छ ।
प्रभु बैंकले इलेक्ट्रिक भेहिकलका लागि आधार दरमा २ प्रतिशत प्रिमीयम लिँदै आएकोमा नाडा अवधिभरीका लागि ५ वर्षका लागि कायम रहने गरी आधार दरमा जम्मा १ प्रतिशत प्रिमीयममा कर्जा सुविधा उपलब्ध गराउने भएको छ । नाडा अटो शो भिजिट गरेको वा अटो शोमार्फत गाडी बुकिङ गरेर एक महिनाभित्र बैंकमा फाइनान्सिङ सुविधाका लागि जाँदा पनि यो सुविधा पाइने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले इलेक्ट्रिक र डिजेल पेट्रोल इन्जिन भएका गाडीका लागि ३ वर्षको कर्जा सुविधा दिने भएको छ । बैंकले १२.९९ प्रतिशत ब्याजदरमा ३ वर्षका लागि इलेक्ट्रिक र डिजेल पेट्रोल इन्जिन भएका निजी गाडी खरिदमा कर्जा दिने भएको छ ।

कामना सेवा विकास बैंकले इलेक्ट्रिक सवारी खरिदमा ११.९५ प्रतिशत वार्षिक ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने जनाएको छ । साथै, नाडा अटो शो अवधिभरीका लागि आधार दरमा जम्मा ०.१४ प्रतिशत प्रिमीयममै कर्जा सुविधा रहेको बैंकले जनाएको छ ।




























प्रतिक्रिया