ज्योति विकास बैंक १५ औं वर्षमा
ज्योति विकास बैंक १५ औं वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा बैंकले मंगलबार कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्यो ।
बैंकका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्व सञ्चालित कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्यहरु, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टले स्वागत मन्तव्यका साथ कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
बैंकले सो अवसरमा नख्खुस्थित आफ्नो १२१ औं शाखाको औपचारिक समुद्घाटन गरेको छ । अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गर्नुभएको हो । सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको थियो । नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।
कार्यक्रममा बैंकमा १० वर्ष तथा १५ वर्ष देखि अनवरत रूपमा कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । अध्यक्ष खड्का तथा प्रमुख कार्यकारी अधिकृत भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदर–पत्र प्रदान गर्नुभएको हो ।
सो अवसरमा बैंकले ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी १५ रुपैंयामा अतुलनीय विशेषता सहितको “Super Smart Savings Account” सार्वजनिक गरेको छ । साथै साउन १४ सम्म ज्योति विकास बैंकको खाता इसेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकहरुलाई रु.१५० बोनस तथा खल्ती एपसंग पहिलो पटक ज्योति विकास बैंकको खाता लिंक गर्ने ग्राहकलाई रु. १०० बोनस प्राप्त हुने व्यवस्था मिलाएको छ ।
सो अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजना गरेको छ । रक्तदान, वातावरण सरसफाई सम्बन्धि कार्यक्रम, वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । साथै , बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्ग र कर्मचारीहरुका लागि निःशुल्क मेहेन्दी कार्यक्रम पनि आयोजना गरेको छ ।
कार्यक्रममा अध्यक्ष खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १५ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिनुहुने समस्त ग्राहकवर्ग, शेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गर्नुभयो । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरु, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत भट्टले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी श्री ध्रुव कुमार उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष प्रचारमान सिंह प्रधानले बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पाल्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले बैंकले केन्द्रको न्यानो नानी परियोजनामा गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो र आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।
प्रतिक्रिया