नर्सका समस्या समाधान गर्न कार्यदल बनाउने तयारी
नर्सले भोग्नुपरेका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नर्सिङ्ग समस्या समाधान गर्न कार्यदल गठन हुन लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले लामो समयदेखि नर्सले विभिन्न समस्या झेल्दै आएकाले नर्सको समस्या समाधानका लागि कार्यदल गठन गरी समस्या समाधान गर्न लागिएको जानकारी दिए । पौडेलले कार्यदल गठनको सम्पूर्ण तयारी पूरा भइसकेकाले छिट्टै गठन हुनसक्ने बताए । स्वास्थ्य मन्त्री थापाको पहलमा कार्यदल गठन हुन लागेको जानकारी दिंदै उनले नर्सका समस्यालाई गम्भीर रुपमा लिएर समाधानतर्फ लागेको बताए । ‘सीटीईभीटी, शिक्षा मन्त्रालय, नेपाल नर्सिङ्ग काउन्सिल लगायतका निकायसँग छलफल भइरहेको छ, पौडेलले भने“अब नर्सिङ्ग अध्ययन गराउने विश्वविद्यालय, विभिन्न प्रतिष्ठान, नर्सिङ्ग एशोसिएसन लगायतका निकायसंग छलफल गरी कार्यदल गठन गरिनेछ ।’
स्वास्थ्य मन्त्रालयले बेरोजगारी, श्रम शोषण, भोलेन्टिएर, विभेद, तलब नपाउने, बिरामी र नर्सको अनुपात लगायतका विषयमा केन्द्रीत रहेर काम गर्ने गरी कार्यदल गठन गर्न लागेको हो । नेपाल नर्सिङ्ग संघले विगतदेखि नै नर्सका समस्या समाधान गर्न माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएको थियो । संघले मन्त्रालयमा अधिकार सहितको नर्सिङ्ग महाशाखा, विभाग अन्तर्गतका महाशाखामध्ये कम्तीमा दुईवटा विभागको प्रमुख नर्सिङ्ग क्षेत्रबाट हुनुपर्ने, बिरामी र नर्सको अनुपात कायम गर्नुपर्ने, नर्सलाई स्वयंसेवाको रुपमा लगाउन नपाइने, उच्चस्तरीय कार्यदल गठन गर्नुपर्ने लगायतका माग अघि सारेको थियो ।
नेपाल नर्सिङ्ग संघकी अध्यक्ष तारा पोखरेलले आफूहरुका माग सहज र साधारण भएको भन्दै अब बन्ने कार्यदलले नर्सका समस्या समाधान हुने विश्वास व्यक्त गरिन । उनले नेपालमा नर्स र विरामीबीचको अनुपात नमिलेकै कारण पटक–पटक नर्सको व्यवहारलाई विवादमा ल्याउने काम भइरहेको भन्दै बिरामी र नर्सको अनुपात कायम गरेमात्र पनि प्रमुख समस्या समाधान हुने बताइन ।
नेपालमा निजी अस्पतालहरुले भोलेन्टियर राख्ने नाममा नर्सहरुमाथि ठूलो श्रम शोषण भइरहेको जानकारी दिँदै अध्यक्ष पोखरेलले भोलिन्टिएर, श्रम शोषण, नर्स र बिरामी बीचको अनुपात मिले मात्र पनि नर्सका समस्या समाधान हुने बताइन । “लाखौ खर्च गरेर नर्स पढेको हुन्छ, अध्यक्ष पोखरेल भन्छिन,“अस्पतालहरुले दुईचार हजार दिएर नर्सको श्रमशोषण गरिरहेकाछन् ।”
नेपाल नर्सिङ्ग काउन्सिलकी रजिष्टार लक्ष्मी राईले नर्सका समस्या समाधान गर्न स्वास्थ्य मन्त्री गगन थापासंग छलफल भइसकेको जानकारी दिइन । उनले नेपालमा नर्सले धेरै समस्या भोगिरहनुपरेको भन्दै कार्यदल गठन पश्चात ती समस्या समाधान हुनसक्ने बताइन ।
सल्लाहकार पौडेलले विशेषज्ञ नर्स उत्पादनका लागि सरकारले छात्रबृत्तिको व्यवस्था गर्ने, भोलेन्टियर प्रथा बन्द गर्ने, काम अनुसारको पारिश्रमिकका लागि पहल गर्ने लगायतका काम सुरु भएको बताए । मापदण्ड अनुसार जनशक्तिको व्यवस्था गर्न सबै अस्पताललाई आग्रह गर्ने जानकारी दिदै उनले तोकिएको मापदण्ड अनुसार नर्सिङ्ग जनशक्ति भर्ना गरे बेरोजगारीको समस्या हट्नसक्ने बताए । उनले नर्सहरुको सुरक्षा, गुणस्तरीय शिक्षा, पारिश्रमिक र सेवासुबिधा लगायतका विषयमा कार्यदल बन्न सक्ने जानकारी दिए ।
प्रतिक्रिया