शनिबार, २२ वैशाख २०८१

मर्स्याङदी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न

समयपोष्ट २०७९ असार ३ गते १३:२१


मर्स्याङदी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

Advertisement

तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबार(हिजाे )बाट १३२ केभीमा विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताए ।

‘हाल चालू रहेको मर्स्याङदी–स्यूचाटार १३२ केभी सिंगल सर्किट मात्रै थियो जुन लाइनबाट करिब एक सय मेगावाटभन्दा बढी विद्युत प्रवाह हुन सक्दैन थियो, मर्स्याङदी–काठमाडौलाई तत्कालका लागि १३२ केभीमा सञ्चालममा ल्याएससँगै अब थप करिब २ सय मेगावाटसम्म विद्युत काठमाडौं उपत्यकामा प्रवाह हुन सक्छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

‘भरतपुर–हेटौंडा १३२ केभी सिंगल सर्किट मात्रै भएकोले त्यहाँ पनि विद्युत प्रवाहका लागि समस्या थियो, कुलेखानी नचलेको बेला मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइनमार्फत विद्युतलाई काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप विद्युत प्रवाह गराउन सकिन्छ, यो लाइन काठमाडौं उपत्यकामा विद्युत प्रवाहका लागि लाइफ लाइन हो ।’

Advertisement

मर्स्याङदी–काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लिसँग १६ असार २०७३ मा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण भदौ २०७३ सुरु भएको थियो । तनहुँ, गोरखा, चितवन,धादिङ र काठमाडौं जिल्लामा पर्ने प्रसारण लाइनमा २३३ टावर रहेका छन् । प्रसारण लाइनको परामर्शदाता सेवा पावर ग्रिड कर्पोरेसन अफ इन्डिया र नेपालको जेड कन्सल्टले दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री