बुधबार, २६ वैशाख २०८१

यस्तो अवस्थामा पुरानो बसपार्क

समयपोष्ट २०७४ फागुन ३० गते ७:३६

उपत्यकाका सबै स्थान र बाहिरका केही जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधन राख्न व्यवस्था गरिएको पुरानो बसपार्कको अवस्था अझै नाजुक छ ।

Advertisement

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको राजधानी शहरको बसपार्क छिर्न नै समस्या हुने गरेको सम्बद्ध यात्रुको गुनासो छ । साविकको बसपार्कमा काठमाडौँ महानगरपालिकाले भ्यू टावर निर्माण शुरु गरेपछि खुलामञ्चको उत्तरी भागमा बसपार्क सारिएको थियो ।

सो बसपार्क निर्माण भएको एक वर्ष पनि नपुग्दै त्यहाँको कालोपत्र उप्किएको छ । नेपाल विद्युत् प्राधिकरण अगाडिको क्षेत्रमा पानीको दह जमेर बसपार्क छिर्न नसकिने अवस्था रहेको यात्रु समिना तामाङले गुनासो गर्नुभयो । आइतबार बेलुकी पानी परेपछि बसपार्कमा दह जम्दा पनि यसको व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

“बसपार्कमा दह जमेकाले छिर्दा सवारी साधनले हिलो र पानी छ्याप्ने गर्छन् र यात्रुले सवारी साधन कुर्ने खुड्किला नबनाइदिँदा आफूहरुलाई ठक्कर दिन्छ की भन्ने डर सधै भइरहन्छ ”– उहाँले भन्नुभयो ।

वीरअस्पतालपट्टिको भागबाट निजी सवारी साधनले बसपार्कलाई सडकका रुपमा प्रयोग गर्दा पनि यात्रुले बस कुरेका बखत किच्छ कि भन्ने डर हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी सवारी साधनलाई रत्नपार्कबाट नघुमाउँदा किच्ने त्रासमा सधै सवारी कुर्नु परेको यात्रु केशव भण्डारीले बताउनुभयो ।

Advertisement

“महानगरले बसपार्क बनाउँदा यात्रुले कुर्ने सिँढी बनाइएन, यसैले सडकमै सवारी साधन कुर्नुपर्छ, बेलुकी बसपार्कमा बत्तीको व्यवस्था पनि गरिएको छैन, यसले गर्दा कतिखेर सवारी साधनले यात्रुलाई हान्छ भन्न सकिँदैन”– उहाँले भन्नुभयो ।

महानगरले बसपार्क छिर्ने सवारी साधनसँग पैसा असुल्ने तर यात्रुका लागि कुर्ने ठाउँ र बत्तीको व्यवस्था नगर्दा बेलुकीपख झन समस्या भोग्नु परेको यात्रुको गुनासो छ । महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बसपार्कमा बनेको दहको व्यवस्थापन गर्न भौतिक पूर्वाधार विकास विभागलाई निर्देशन दिइसकिएको बताउनुभयो ।

“बसपार्क बनाउने निर्माण व्यवसायीले त्यहाँ छिर्ने सवारी साधनसँग पैसा उठाउन नपाएपछि मर्मत सम्भार नगर्दा समस्या आएको हो, अब केही दिनमै समाधान हुन्छ”– उहाँले भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले महानगरपालिकाले बनाएको नियमअनुसार बसपार्कमा सवारी व्यवस्थापन गरेको बताउनुभयो । बसपार्कमा निजी सवारी साधन नछिराउनका लागि महानगरले निर्देशन दिनुपर्ने उहाँको भनाइ थियो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री