सोमबार, २४ वैशाख २०८१

 नेपाल–भारत सम्बन्ध सुझावको मस्यौदालाई अन्तिमरुप दिँदै इपिजी

समयपोष्ट २०७४ फागुन १२ गते १३:४९

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को यहाँ जारी सातौँ बैठकमा मस्यौदाको स्वरुपलाई अन्तिमरुप दिने सहमति भएको छ ।

Advertisement

हालसम्मका बैठकका उपलब्धिलाई लिपिबद्ध गरी मस्यौदालाई अन्तिम रुप दिन बैठकमा सहमति भएको समूहका एक सदस्यले राससलाई बताए । बैठकबारे जानकारी दिन भोलि अपराह्न पत्रकार सम्मेलन गरिने उनले जनाए ।

मैत्री एवं सौहार्दपूर्ण वातावरणमा भएको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा विचारविमर्श भएको थियो ।

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार इपिजी गठन भएको हो ।

तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला उक्त सहमति भएको थियो । त्यसअघि २३ वर्षपछि काठमाडौँमा नै सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले दुवै देशका परराष्ट्र सचिवलाई इपिजी गठनका निम्ति आवश्यक गृहकार्य गर्न निर्देशन दिएको थियो ।

Advertisement

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका बेला परिवर्तित परिस्थितिअनुरुप बहुआयामिक नेपाल–भारत सम्बन्धलाई प्रगतिशील एवं अग्रगामी तुल्याउन इपिजी गठनको आवश्यकतामा जोड दिइएको थियो, जसलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वीकार गरेका थिए ।

सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको इपिजीको कार्यकाल आगामी चार महिनामा समाप्त हुँदैछ । रासस)

प्रतिक्रिया

सम्बन्धित सामाग्री