मंगलबार, १८ वैशाख २०८१

पाँच जिल्लाबाट ६१ हजार लिटर दूध संकलन गरी पाउडर दुध बनाईने, कारखाना निर्माण प्रक्रिया अघि बढ्यो

समयपोष्ट २०७७ पुष ३ गते १९:३१

Advertisement

बागमती प्रदेश दुग्ध विकास बोर्डले हेटौँडा उपमहानगरपालिका–१० शिसौघारीमा तत्कालै पाउडर दुग्ध प्लान्ट भवन निर्माण गरिने भएको छ । सोका लागि लागि अहिले बोलपत्र आह्वान गरेर निर्माण व्यवसायीको छनोट गरिएको जनाइएको छ ।

उक्त दुग्ध प्लान्ट भवनको केही दिनभित्रै निर्माण कार्य शुरु गरिने भएको बताइएको छ । प्रदेश सरकारको अनुदान रु ४१ करोड २२ लाख ७१ हजार ५१२ को लागतमा आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरेर धुलो दुध प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध विकास बोर्डका सूचना अधिकारी डा शत्रुघनप्रसाद साहले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश नं. २ को बारा, रौतहट, पर्सा र बागमती प्रदेशको मकवानपुर र चितवनका गरी करिब पाँच हजार ६०० कृषकबाट दैनिक साढे ६१ हजार लिटर दूध प्रदेश विकास वोर्डले खरिद गर्ने नीति रहेको छ ।

दुग्ध विकास बोर्डले कृषकबाट खरिद गरेको दूधलाई आधुनिक प्रविधिको माध्यमबाट पाउडर दूध प्याकिङ गरी स्वदेशका साथै विदेशी बजारमा खपतका लागि पठाइने भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले बताउनुभयो ।

यसैगरी दुग्ध प्लान्टको परिसरभित्र १०० मेट्रिक टन क्षमताको नयाँ कोल्डस्टोर निर्माणका लागि बोलपत्र पनि आह्वान गरेर निर्माण व्यवसायीको छनोट गरिसकेको प्रवक्ता डा पाण्डेले जानकारी दिनुभयो । उक्त भवन निर्माणका लागि प्रदेश सरकारले रु ५७ लाख १२ हजार ४१७ रकम विनियोजित गरिसकेको र अब छिट्टै भवन निर्माण कार्य शुरु हुने उहाँले जनाउनुभयो ।

हेटौँडामा सञ्चालन हुने पाउडर दूध प्याकिङ उद्योगबाट प्रत्यक्ष अप्रत्यक्ष गरी करिब २४५ जनाले रोजगारीको अवसर प्राप्त गर्ने बोर्डले जनाएको छ । प्रदेश सरकारले हेटौँडाको सिसौघारीमा सो उद्योग स्थापना गर्न दुई विघा दुई कट्ठा सरकारी जग्गा हालै उपलब्ध गराइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री