२५ मेगावाटको देवीघाट सोलार आयोजनाको काम अलपत्र
नेपाल विद्युत प्राधिकरणले अघि बढाएको २५ मेगावाटको देवीघाट सोलार आयोजनाको काम अलपत्र परेको छ।
कोरोनाभाइरस संक्रमणका कारण सामान आयात गर्न नसक्दा नेपालकै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको काम अलपत्र परेको हो ।
गत जेठमै यस आयोजनाबाट १.२५ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय ग्रीडमा जोडिएको थियो। त्यसको एक महिना (गत असार) भित्रै थप १० मेगावाट उत्पादन गर्ने घोषणा गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेर रोकिएको प्राधिकरणले जनाएको छ।
सातवटा खण्ड बनाएर सुरु गरिएको यस परियोजनामा हालसम्म दुईवटा खण्डको काम सकिएको छ। अर्को दुई खण्डमा अहिले पनि काम भइरहेको छ।
काम पूरा भएको खण्डअन्तर्गत १.२५ मेगावाट विद्युत उत्पादन भइसकेको छ। यस्तै काम जारी रहेको खण्डमा थप १० मेगावाट विद्युत उत्पादन प्लान्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको र अर्को ५ मेगावाटको निर्माण जारी रहेको छ। बाँकी तीन खण्डबाट ८ मेगावाट विद्युत उत्पादन गर्ने साइटको भने सुरु नै भएको छैन।
आयोजनाले सोलार प्यानल जडान गरिसकेकाले सामान आएको एक महिनाभित्र यस परियोजनाबाट थप विद्युत उत्पादन गर्न सक्ने अवस्था छ। तर सामान आउने अवधि सुनिश्चित नभएकाले लगभग सबै काम सकिएको १० मेगावाट विद्युत कहिले राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ भन्ने टुंगो लाग्न सकेको छैन ।
प्रतिक्रिया